Logo
२ जेष्ठ २०८१, बुधबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रयोगशालाकी निर्देशकको प्रष्टिकरण : ‘आरडीटी विधिबाट अरु देशले पनि परीक्षण गरिरहेका छन्’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आरडीटी विधिबाट परीक्षणमा प्रश्न उठेपछि नेपालले मात्र नभइ अरु देशले पनि यो विधिबाट परीक्षण गरिरहेको बताएकी छन् ।

पीसीआर भने जटिल तथा त्यसका लागि छुट्टै प्रयोगशालाको सेटअप चाहिने उनको भनाइ छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा बोल्दै निर्देशक झाले शरीरमा रहेको एन्टीबडी परीक्षण गर्ने विभिन्न विधिमध्ये आरडीटी छिटो, विज्ञता नचाहिने तथा १५ मिनेटमै नतिजा प्राप्त हुने बताइन्।

मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको मंगलबारबाट स्वास्थ्य परीक्षण सुरु भएको भन्दै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको बताए।

आज दुईजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना उपचाररत छन्।

विरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन्। सबैको अवस्था सामान्य रहेको मन्त्रालयलले जनाएको छ। पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी हाल भने निको भइसकेका छन्।

नेपालमा हालसम्म मंगलबारको अपडेटअनुसार देशभरी ६ हजार २ सय ९९ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। आरडीटी विधिबाट हालसम्म ६ हजार ६०७ परीक्षण भएका छन्।

आरडिटी र पिसिआर विधिबाट हालसम्म १२ हजार ९ सय ६ वटा परीक्षणहरु भइसकेको छ। आजको अपडेटमा आइसोलेसनमा देशभरी ९९ जना रहेका छन् भने क्‍वारेन्टाइनमा ५ हजार ७ सय ७१ जना छन्।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्