Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक विभागले लकडाउनको फाइदा लिँदै राजमार्गमा मर्मत कार्यलाई बनायो तीव्र

लकडाउन समयको फाइदा लिँदै सडक विभागले राजमार्ग मर्मत सम्भारको कामलाई तिब्र पारेको छ । सडक विभागका अनुसार त्रिभुवन राजपथको हेटौंडा-भैंसे-लामिडाँडा खण्ड, कोसी राजमार्गको देउराली-मुढे खण्ड, महेन्द्र राजमार्गको लम्कि -अत्तरिया खण्ड लगायत मर्मत सम्भारको काम भइरहेको छ।

भौतिक दुरी कायम राख्दै र अन्य सुरक्षाका उपायहरु अपनाएर राजमार्ग मर्मत संभारको कार्य चालु राखिएको विभागले जनाएको छ। ती स्थानमा सडक मर्मत र आवश्यकता अनुसार ओभर-ले भइरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

विभागका अनुसार कोशी राजमार्गको खाँदबारी र कान्ति लोकपथमा पनि काम भइरहेको छ। लकडाउनका कारण अत्यावश्यक बाहेकका सवारीसाधन संचालन भएका छैनन्। ट्राफिक व्यवस्थापन सहज हुँदा काम गर्न सजिलो भएको सडक विभागले जनाएको छ।

शर्माका अनुसार विभागले कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिबाट स्वीकृति लिए थानकोट-नौविसे, टोखा-छहरे,चाबहिल -चुच्चेपाटी लगायतका सडक निर्माण गर्न लागेको छ।

यसैगरी ६० वटा निर्माणाधीन पुल र उपत्यकामा ओभर-ले गर्न बाँकी सडकको काम गर्न अनुमति मागेको छ। स्वीकृति पाउनासाथ काम सुरु गरिने शर्माले बताए।

पृथ्वी राजमार्गमा थानकोटको केही तलबाट ९ किमि भरतपुरतिरको सडक ओभर-ले गर्न लागिएको हो। बाँकी सडक राम्रो भएपनि यो खण्डमा पीचहरु दबेका छन्।

अरुबेला १४ हजार सवारी साधन दैनिक गुड्ने यो सडकमा अहिले थोरै सवारीसाधनमात्र आवातजावत गर्छन्। पछि ट्राफिक व्यवस्थापनका लागि कठिन हुने भएकाले यही अवधिमा मर्मत गर्न लागिएको हो।

ठेकेदारसमेत स्वीकृति पाए काम गर्न तयार अवस्थामा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ। निर्माणाधीन फर्मा बाँधेर ढलान गर्न बाँकी पुलहरुको निर्माण अघि बढाउन लागिएको हो।

बर्खाअघि काम भएन भने यी पुलहरुमा क्षति पुग्ने भएकाले निर्माण अघि बढाउन लागिएको बताइएको छ। अहिले सडक विभागका करिब २० वटा आयोजना र केही पुल आयोजनामा काम भइरहेको जनाएको छ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्