Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट विश्वभर फैलिएको कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ५५ सय नाघ्यो, संक्रमित डेढ लाख

छिमेकी देश चीनबाट फैलिएर विश्वब्यापी बनेको
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ सय नाघेको छ। चीन कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो।

एजेन्सीहरुका अनुसार चीनमा अहिलेसम्म ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ, जसमध्ये ३ हजार १ सय ८९ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

फैलावट भयावह रुपमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ। यसका साथै डब्लुएचओले अबको कोरोनाको महामारीको केन्द्र युरोप भएको चेतावनीसमेत दिएको छ।

२ हजार ३ सय २९ जना कोरोना संक्रमित भेटिएपछि अमेरिकाले पनि राष्ट्रिय आपतकालको घोषणा गरेको छ। शनिबार साँझसम्म विश्वभर ५ हजार ५ सय ४७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण यतिबेला विश्वभर १४९ देशमा फैलिएको छ। यसबाट करिब डेढ लाख मानिसहरु संक्रमित भएको पुष्टि भएको छ। हालसम्म १ लाख ४८ हजार ९ सय ६ जनामा कोरोनाको संक्रमण देखिएको छ।

चीनमा पछिल्ला केही दिनदेखि काेरोनाको संक्रमण नियन्त्रणतर्फ उन्मुख भएको देखिएको छ। कोरोनाबाट ज्यान गुमाउने र नयाँ संक्रमित हुनेहरुको संख्या उल्लेख्य मात्रामा घटेको पाइएको छ।

केही दिनअघि चीनका राष्ट्रपति सी जिनफिङ कोरोनाको उद्गमथलो वुहानको भ्रमणमा निस्किएका थिए। योससँग चीनले कोरोना भाइरसको महामारीबाट मुक्त भएको घोषण गरिसकेको छ।

चीनपछि कोरोनाको सबैभन्दा बढी प्रभाव युरोपेली मुलुक इटालीमा देखिएको छ। शनिबार साँझसम्म इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको पुष्टी भएको छ भने १ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन्।

यस्तै इरानमा पनि कोरोनाको संक्रमण उच्च देखिएको छ। इरानमा कोरोनाको संक्रमणबाट ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जनामा संक्रमण देखिएको छ।

इस्तै स्पेनमा १३६, दक्षिण कोरियामा ७२, फ्रान्समा ७९, अमेरिकामा ५०, स्वीट्जरल्याण्डमा १३ र जर्मनीमा ८ जनाका कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

नेपालमा हालसम्म एक जनामा मात्रै कोरोनाको पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा भने कोरोना संक्रमितको संख्या ८४ पुगिसकेको छ भने २ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: Mar 14, 2020

प्रतिक्रिया दिनुहोस्