Logo
२९ बैशाख २०८१, शनिबार
(March 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षदेखि वीर अस्पतालले अत्याधुनिक टोमोथेरापी सेवा सुरु गर्ने

वीर अस्पतालले नयाँ वर्षदेखि क्यान्सर उपचारमा अत्याधुनिक टोमोथेरापी सेवा सुरु गर्ने तयारी गरेको छ।

वीर अस्पतालमा रहेको २० वर्ष पुरानो रेडियसन थेरापीमा प्रयोग हुने कोबाल्ट मेसिन हटाएर टोमोथेरापी सुरु गर्न लागिएको हो। २ वर्षअघि नै टोमो उपकरण अस्पतालले खरिद गरेको थियो। तर, अस्पतालले कोबाल्टको रेडियसन सोर्स निस्क्रिय पार्ने प्रक्रियामा ढिला गर्दा टोमोथेरापी सेवा सुरु हुन २ वर्ष लागेको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा डिएन साहले कोबाल्ट हटाउने काम सुरु भैसकेको जानकारी दिएका छन्। ‘कोबाल्टको व्यवस्थापन लगत्तै टोमोथेरापी उपकरण जडानका लागि काम सुरु हुनेछ,’ उनले भने, क्यानडाको टिमले युक्रेन लगेर कोबाल्टको रेडियसन निस्क्रिय पार्ने काम सुरु गरेको छ।’

वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा विवेक आचार्यका अनुसार कोबाल्टको सोर्स निस्क्रिय पार्नका लागि १ वर्षअघि नै रकम निकासा भएको थियो। तर, भेन्डरले सो काम समयमा नसक्दा टोमो उपकरण जडानमा ढिला भएको हो।

‘कोबाल्ट राखिएको ठाउँमा नै टोमो राख्नु पर्ने भएकाले टोमो सेवा सुरु हुन ढिला भएको हो, टोमोथेरापीका लागि बंकर निमार्ण कार्य ९५ प्रतिशत पुरा भएको छ,ु डा आचार्यले भने, ‘कोबाल्टको सोर्स हटाउने काम केही दिनमा सकिएपछि त्यसको १५ देखि २० दिनमा टोमो थेरापी सेवा सुरु हुनेछ।’

डा आचार्यका अनुसार टोमोथेरापी क्यान्सर उपचारका लागि अत्याधुनिक प्रविधि हो। यो सेवा नेपालमै पहिलो पटक वीर अस्पतालमा सुरु हुन लागेको हो। भारतमा पनि निकै कम अस्पतालमा यो सेवा उपलब्ध छ।

के हो टोमोथेरापी ?

टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा अत्याधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन)का माध्यमबाट त्रिआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ।

हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसैअनुरुप रेडिएसन सुनिश्चित गर्छ।

टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने डा आचार्य बताउँछन्।

डा. आचार्यका अनुसार सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौँडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।

टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। डा. आचार्यका अनुसार टोमोले हजारौं स(साना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।

पछिल्लो प्रविधि भएकाले यसको मूल्य अन्य उपकरणभन्दा महँगो पर्ने डा. आचार्यले बताए। उनी भन्छन्, ‘उपचार प्रभावकारी हुने भएकाले मूल्यभन्दा पनि सेवामा जोड दिनुपर्छ।’ उपकरणलाई दिनमा ४–५ घन्टा मात्रै बन्द गर्दा पुग्ने भएकाले जनशक्तिलाई विभिन्न सिफ्टमा काम गर्न लगाएर धेरै भन्दै धेरैलाई सेवा दिन सकिने डा. आचार्य बताउँछन्।
वीर अस्पताल जस्तो बिरामीको चाप हुने र गरीब बिरामी आउने ठाउँमा यो उपकरण रहँदा दिनमा ६० भन्दा बढीले निकै कम मूल्यमा सेवा पाउने उनको भनाइ छ।

सबै खालका क्यान्सरको विशिष्ट उपचार प्रविधि टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर ९सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म०को सहज र सफल उपचार गर्न सक्छन्।

टोमोथेरापी तलदिएका क्यान्सरका रोगमा प्रयोग गर्न सकिन्छ
– मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर,
– टाउको, घाँटी र मुखको क्यान्सर,
– ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत),
– फोक्सोको क्यान्सर,
– छालामा हुने क्यान्सरहरू,
– प्रोस्टेट क्यान्सर ९सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म०,
– भोजन नली र पाचन प्रणालीका क्यान्सर,
– सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर,
– कोलोन, पेट, रेक्टल र एनल क्यान्सर,
– कलेजो र फियो क्यान्सर,
– शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर,
– प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया)।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्