Logo
२२ भाद्र २०८१, शनिबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको बनावट जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै प्रदेश नं ५ मा प्रर्ने बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताएका हुन ।

“प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्”, उनले भने, “प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो, अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन ।”

अध्यक्ष प्रचण्डले सङ्घीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेषरुपले सम्बोधन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले सङ्घीय सरकारलाई आवश्यक निर्देशन दिने बताए ।

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले सङ्घीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा समेत राखेका छन् । उनले भने, “जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ ।”

सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष प्रचण्ड मङ्गलबार सुर्खेत आएका हुन् ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्