Logo
१९ बैशाख २०८१, बुधबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले महाकाली नदिमा बनाएको काठेपुल नेपाल प्रहरीले भत्कायो

भारतले दार्चुला स्थित महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् । केही साताअघि व्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो ।

आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा पुल हालेको थियो ।
व्यास–१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठका डन्डी प्रहरीले फालेका हुन् ।

व्यास–१ कै कटारपानीमा डोजरसमेत वारपार गर्न मिल्ने गरी बनाएको कल्भर्टजस्तै पुलमाथि ढुंगा राखिएकाले भत्काउन नसकेको एक प्रहरीले बताए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त क्षेत्रमा सुरक्षा उपस्थिति नहुँदा त्यहाँ कार्यरत कामदारले सडक खनेका र अस्थायी काठेपुल लगाएका दाबी गरे ।

‘भारतले नभई उक्त क्षेत्रमा मजदुरी गर्न जाने नेपाली कामदारले सजिलोका लागि काठेपुल लगाएका रै’छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा नदीमा पुल लगाउनु हुँदैन, सबैलाई समस्या पर्छ भनेर कामदारलाई सम्झाएर प्रहरी फर्केका छन् ।’

प्रजिअ पौडेलले नेपाली कामदारले पुल राखेको दाबी गरे पनि सीमापारि भारतीय सुरक्षाकर्मीको नियमित गस्तीका बीच कामदारले सीमा नदीमा पुल हाल्नु असम्भव भएको स्थानीय बताउँछन् । ‘हाम्रो प्रशासनले यस्तै जानकारी गराएको होला,’ स्थानीय हिमालय भट्टले भने, ‘भारतले उक्त क्षेत्रमा मनोमानी ढंगले सडक निर्माण गरिरहेको छ ।

 

काठेपुल त कामदारले वारिपारि गर्नलाई लगाए होला । नेपाली भूमिमा आएर सडक बनाई डोजर ओसारपसार गर्नु कति ठूलो हेपाहा प्रवृत्ति हो ।’
गत वर्ष भारतले नेपाली प्रशासनकै सहमतिमा महाकालीमा काठेपुल हालेको थियो । ‘दुई देशको सीमा क्षेत्रमा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ ।

तर, भारतले त्यसविपरीत नेपाली पक्षको उपस्थिति नभएको मौका छोपी संरचना निर्माण गर्दै आइरहेको छ,’ प्रजिअ पौडेलले भने, ‘गर्नैपर्ने भए हाम्रो सहमति लिनुपर्थ्यो ।’ उक्त क्षेत्रमा भारतले दुई ठाउँमा करिब आधा किलोमिटर सडक खनेको छ भने एक ठाउँमा सवारीसाधन वारपार गर्न सक्ने पुलसमेत बनाएको छ ।

भारतले महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर आधा किलोमिटर सडक खनेको समाचार कान्तिपुरमार्फत सार्वजनिक भएपछि मात्रै नेपाली प्रशासनले पुल भत्काउन चासो दिएको हो । गत शनिबारमात्रै नेपाली प्रशासनले उत्तरी सीमा क्षेत्रमा भएका गतिविधिबारे कुनै थाहा नभएको र पुल निर्माण र सडक खनेको बारे अनभिज्ञता प्रकट गरेको थियो ।

कालापानी नपुगी फर्किए उपप्रधानमन्त्री
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली सोमबार सेनाको हेलिकप्टर लिएर उडे पनि भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नपुगी फर्किएको छ । व्यास गाउँपालिका–१ छाङरुसम्म पुगेर टोली आकाशबाटै फर्केको हो ।

भ्रमण टोलीमा रहेका सुदूरपश्चिम प्रदेश सांसद गेल्बुसिंह बोहराले पाँच मिनेट जति छाङरु गाउँमाथिको आकाश हुँदै तिंकर खोलाबाट हेलिकप्टर टर्न भएको बताए । उनले छाङरुमा सशस्त्र प्रहरीको सीमा अवलोकन पोस्ट (बीओपी) स्थापना गर्ने स्थानको आकाशबाटै अवलोकन गरिएको बताए । फर्केपछि खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोस्टहरू थपिँदै जाने बताए भन्दै कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्