Logo
२० बैशाख २०८१, बिहीबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिकमामिलामन्त्री बीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच आज जेरुसलेममा भेटवार्ता भएको छ ।

त्यस अवसरमा मन्त्रीद्वयबीच लगानी, व्यापार र पर्यटन प्रवद्धन साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताएका छन् ।
सुसारे सेवालगायत रेष्टुराँ र अन्य व्यापारिक क्षेत्रमा नेपालीले इजरायलमा सेवा प्रवाह गर्न सक्ने उनले जानकारी गराएका छन् ।

इजरायलका राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको भन्ने खबरले आफू हर्षित भएको मन्त्री भट्टराईले बताएका छन् भने दुवै देशका मन्त्रीले व्यापारिक समुदायको भ्रमण आदान प्रदान गराउन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । ।

हाल नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गरेका छन् । इजरायली मन्त्रीले पनि नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्