Logo
३० बैशाख २०८१, आईतबार
(February 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जाल : विज्ञापनमा राष्ट्र बैंकको कडाइ

सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलनअन्तर्गत कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । उसले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्तो भुक्तानी गैरकानुनी भनेको छ ।

‘फेसबुक, ट्‍वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’ विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ । यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी दुई लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।

सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित ‘पेमेन्ट गेटवे’ नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन् । उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट सामाजिक सञ्जालमा हुने विज्ञापनको रकम भुक्तानी गर्न लगाई त्यस्ता व्यक्तिलाई पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकको सूचनासँगै युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ ।

त्यस्ता भिडियोमा विज्ञापन राखेबापत युट्युबले निश्चित प्रतिशत भिडियो निर्मातालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकम प्रायःले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासो आएकाले सूचना जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कति रकम बाहिरिन्छ भन्ने तथ्यांक नभए पनि ठूलो रकम बाहिरिएको गुनासो छ,’ उनले भने, ‘सामाजिक सञ्जालको विज्ञापनका लागि हुने अनौपचारिक भुक्तानी डिजिटल हुन्डीजस्तो भएको रहेछ ।’

प्रकाशित मिति: Feb 2, 2020

प्रतिक्रिया दिनुहोस्