Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम सीमा पाँच करोड हटाउने तयारी

सरकारले प्रत्यक्ष वैदेशिक लगानीको सीमा हेरफेर गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले पाँच करोड रुपैयाँभन्दा कमको प्रत्यक्ष वैदेशिक लगानी गर्न नपाइने सीमा हटाउने बताएका छन् । अर्थ मन्त्रालयमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्विट्जरल्यान्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्वको टोलीसँगको भेटवार्तामा अर्थमन्त्री खतिवडाले थ्रेसहोल्डसम्बन्धी व्यवस्था संशोधनको छलफल अगाडि बढेको बताएका हुन् ।

गत जेठमा मन्त्रिपरिषद्ले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । यो सीमा हटाउन नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय १८ दातृ निकायले सरकारलाई पत्राचारसमेत गरिसकेका छन् । ती निकायले अर्थमन्त्री तथा सरकारका अधिकारीलाई सीमा अधिक रहेको भन्दै त्यसलाई हटाउन वा संशोधन गर्न माग गरिरहेका छन् ।

दातृ निकायहरूले नेपालमा हालसम्म भएको लगानीमध्ये ९० प्रतिशत ५ करोड रुपैयाँभन्दा कम लगानीअन्तर्गतको रहेको र यो सीमाले सिर्जनशील तथा नवीनतम उद्यममा अवरोध गर्ने भन्दै हटाउनुपर्ने धारणा राख्दै आएका छन् । यस धारणाअनुसारको पत्र उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेख्दै त्यसको बोधार्थ अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली, उद्योगमन्त्री र लगानी बोर्डलाई दिएका छन् ।

भेटमा अर्थमन्त्री खतिवडाले विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता प्रक्रिया अगाडि बढाइएको, च्यालेन्ज फन्डको सुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानुन निर्माण गरिएको र विद्यमान कानुनको परिमार्जन गर्ने तयारीमा रहेको जानकारी दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्