Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेमिट्यान्स पठाउन नै वार्षिक ३८ अर्ब कमिसन, कुनबाट पठाउँदा कति ?

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले वर्षको ३८ अर्ब रुपैयाँसम्म खर्चिने गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात् २२ हजार ८ सय रुपैयाँसम्म पठाउँदा औसतमा नेपाली कामदारहरूले ४।३ प्रतिशत कमिसन दिनुपर्छ । त्यस्तै, ५ सय अमेरिकी डलर अर्थात् ५७ हजारसम्म पठाउँदा विदेशमा रहेका नेपालीले २ दशमलव ९ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् । राष्ट्र बैंकले विश्व बैंकको प्रतिवेदनलाई आधार मानेर यस्तो प्रतिवेदन बनाएको हो । यस आधारमा हेर्दा गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्स पठाउँदा वैदेशिक मुलुकमा काम गरिरहेका नेपालीले ३७ अर्ब ८० करोड रुपैयाँसम्म कमिसनबापत खर्च गरिरहेका छन् ।

विदेशबाट रकम पठाउँदा लाग्ने महँगो कमिसनकै कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट कामदारले नेपालमा रकम पठाउने गर्छन् । ‘२ सय डलर वा सोभन्दा कम रकम रेमिट्यान्स पठाउँदा लाग्ने शुल्कमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योग्दान पुग्ने देखिन्छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

तर, रेमिट्यान्स कम्पनीहरू भने यो तथ्यांक सही नभएको जिकिर गर्छन् । ‘हामीले कतार, दुबईलगायतका मुलुकबाट औसतमा २ प्रतिशतमा रकम ल्याइरहेका छौँ,’ नेपाल विप्रेषक संघका अध्यक्ष तथा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने, ‘यो तथ्यांकलाई हामीले चुनौती दिन त सक्दैनौँ, तर यो तथ्यांकमा केही त्रुटि भने भएको हुन सक्छ ।’

 

मुलुकमा कति रेमिट्यान्स अनौपचारिक माध्यमको प्रयोग भएर भित्रिन्छ, यकिन तथ्यांक छैन । यद्यपि, राष्ट्र बैंकले केही वर्षअघि १६ जिल्लाका ३ सय २० घरधुरीमा गरेकोे नमुना सर्वेक्षणले अनौपचारिक वा हुन्डीका माध्यमबाट ७ प्रतिशत रेमिट्यान्स पठाउने गरेको भेटेको थियो । त्यस्तै, २।२ प्रतिशतले भने औपचारिक र अनौपचारिक दुवै माध्यम प्रयोग गर्ने गरेको भेटिएको थियो ।

विश्व बैंकको तथ्यांककै आधारमा प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले यी तथ्यांकको स्वामित्व भने लिन चाहेको देखिँदैन । ‘विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक हो यो, लागतको विषयमा भने हाम्रो अलग्गै अध्ययन होइन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने । राष्ट्र बैंकले भारतबाट अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सको भने आकलन गरेको छ । प्रतिवेदनअनुसार भारतबाट ३८ अर्ब रेमिट्यान्स अनौपचारिक माध्यमबाट आउँछ ।

कुनबाट पठाउँदा कति
नेपालमा अमेरिकाबाट रेमिट्यान्स पठाउन सबैभन्दा महँगो शुल्क लाग्छ । प्रतिवेदनअनुसार अमेरिकाबाट रेमिट्यान्स पठाउँदा ३ दशमलव ९ देखि ५ दशमलव ४ प्रतिशतसम्म शुल्क लाग्ने गरेको छ । मलेसियाबाट भने तुलनात्मक रूपमा कम लागत लाग्ने गरेको छ । त्यहाँबाट पैसा पठाउँदा २ दशमलव ९ देखि ३ दशमलव ४ प्रतिशतसम्म लागत लाग्छ । भारतमा भने यिनै मुलुकबाट रेमिट्यान्स पठाउन औसतमा ३ दशमलव ३६ प्रतिशत र बंगलादेशमा ३ दशमलव ५ प्रतिशत लागत लाग्ने गरेको छ ।

बैंकलाई निक्षेप स्रोत
रेमिट्यान्सका कारण बैंकहरूको निक्षेप बढ्न सहयोग पुगेको राष्ट्र बैंकको ठम्याइ छ । कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को तुलनामा बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा लगानी ८४ प्रतिशत पुग्नुमा निक्षेपको स्रोतका रूपमा रेमिट्यान्ससमेत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिडिपीको २५ प्रतिशतबराबर रकम नै रेमिट्यान्स भित्रिने गरेको छ ।

रेमिट्यान्सले वैदेशिक मुद्रा सञ्चिति, शोधनान्तर स्थिति ९भुक्तानी सन्तुलन० मा समेत सुधार आउने गरेको छ । राष्ट्र बैंकले मुलुकको बाह्य क्षेत्र सन्तुलन मिलाउन मात्र नभई नेपालीको शिक्षा, स्वास्थ्य, गरिबी निवारण र वित्तीय परिचालनमा सहयोग पुगेको राष्ट्र बैंकको निष्कर्ष छ ।

राष्ट्र बैंकको तथ्यांकमा त्रुटि
सुमन पोखरेल,अध्यक्ष नेपाल विप्रेषक संघ
हामीले अहिले कतार, दुबई र साउदीबाट रेमिट्यान्स भिœयाउँदा ४ देखि ६ डलर लिने गरेका छौँ । यो दर फ्लाट बेसिसमा हो । यस आधारमा ती मुलुकबाट जतिसुकै रकम पठाउँदा पनि ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँ लाग्ने गरेको छ । राष्ट्र बैंकले आधार लिएको यो तथ्यांकमा कुनै त्रुटि भएको हुनुपर्छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्