चितवन मेडिकल कलेजका विद्यार्थी फेरि आन्दोलन गर्ने तयारीमा
चितवन : चितवन मेडिकल कलेज (सीएमसी) ले विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन नगरेको भन्दै विद्यार्थीहरु फेरि आन्दोलन गर्ने तयारीमा रहेका छन् ।
गएको मंसिर १० गते मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबीच भएको वार्तामा अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएका थिए।
एमबीबीएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएको भनिए पनि चितवन मेडिकल कलेजले अहिलेसम्म फिर्ताको प्रक्रिया सुरु नगरेको विद्यार्थीले बताएका छन् ।
बढी लिइएको शुल्क फिर्ता नभएको भन्दै राजधानीबाहिरका मेडिकल कलेजका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा नै बहिस्कार समेत गरेका थिए
कलेजले शुल्क समायोजनामा चासो नदेखाएपछि चितवनमा अभिभावक र राजनैतिक दलसँग समन्वय गरी बैठक आह्वान गरिएको थियो । तर बैठकमा चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपाने उपस्थित नभएपछि विद्यार्थीहरु थप आन्दोलन गर्ने अवस्थामा पुगेका हुन ।
सर्वदलीय बैठकले मेडिकल सञ्चालकसँग वार्ताको पहल गर्ने भनिए पनि सञ्चालक उपस्थित नभएका कारण समस्या भएको विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए ।
कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न आलटाल गरेका कारण थप आन्दालेनमा जान बाध्य भएको उनले बताए ।कलेजले परीक्षा र रजिस्ट्रेसन शुल्क मात्र फिर्ता दिने भन्दै आएकोमा आपत्ति रहेको चन्दले बताए । सरकारले तोकेको शुल्कभन्दा बढी ६ लाख २५ हजार रुपैयाँ रकम विद्यार्थीसँग कलेजले उठाएको विद्यार्थीले बताउँदै आएका छन् ।
कलेजका ७ जना विद्यार्थी र ७ जना अभिभावकसहित सोमबार काठमाण्डौमा नेकपाका नेता सुवासचन्द नेम्वाङलाई भेट्ने र काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने तयारी भएको चन्दले बताए । माग सुनुवाइ नगर्ने, छलफलमा सहभागी नहुने र विद्यार्थीलाई मात्र नभइ सरकारसँग भएको सहमतिसमेत पालना नगर्ने संकेत देखिएपछि थप आन्दोलनमा जान बाध्य भएको चन्दले बताए ।