विदेशी हिन्दूलाई नागरिकता दिने गरी विधेयक पारित, आसाम, बंगाल लगायतका क्षेत्रमा विरोध सुरु
भारतको लोकसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको छ ।
सोमबार लोकसभामा भएको मतदानमा विधेयकको पक्षमा ३११ मत र विपक्षमा ८० मत परेको थियो । भारी मतले पारित भएसँगै विधेयकलाई बुधबार राज्यसभामा पेश गरिने छ ।
नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दू, जैन, इसाइ, शिख र फारसी समुदायलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ । तर विधेयकमा मुस्लिम समुदायलाई भने यस्तो सुविधाबाट वञ्चित गरिएको छ ।
नागरिकता संशोधन विधेयकको पक्षमा जेडियु, शिवसेना, बिजेपी र पूर्वोत्तरका केही दलले मत हालेका थिए । राज्यसभाबाट समेत नागरिकता विधेयक सहजै पारित हुने अपेक्षा गरिएको छ ।
नागरिकता संशोधन विधेयकलाई लिएर आसाम, बंगाल लगायतका क्षेत्रमा विरोध सुरु भएको छ । आसामको नर्थ इस्ट स्टुडेन्ट अर्गनाइजेशन र अल असम स्टुडेन्ट युनियनले मंगलबार बन्द आव्हान गरेका छन् ।
उत्तर पूर्वोत्तर राज्यका आदिवासीले बाहिरबाट आएकालाई नागरिकता दिँदा आफ्नो पहिचान र जीविका खतरामा पर्ने भन्दै विरोध जनाएका हुन् । आसामका अलवा त्रिपुरामा समेत नागरिकता संशोधन विधेयकको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।
त्रिपुरामा भारतीय जनता पार्टी निकट इन्डिजिनस पिपुल फ्रन्ट अफ त्रिपुरासहित कैयौं आदिवासी समूहले सोमबार बन्दको आयोजना गरेका थिए । यता अमेरिकाको एक आयोगले नागरिकता संशोधन विधेयकलाई लिएर गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।