पेन्टागनद्वारा बगदादीमाथि हमलापछि आइएसले दियो यस्तो धम्की
अमेरिकी रक्षा विभाग पेन्टागनले इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बकर अल बगदादीमाथि गरिएको कारवाहीको भिडियो र तस्विर सार्वजनिक गरेको छ । सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ म्याकेन्जीले बुधबार पत्रकार सम्मेलन गर्दै बगदादीमाथि गरिएको कारवाहीको भिडियो र तस्विर सार्वजनिक गरेका हुन् ।
म्याकेन्जीका अनुसार जारी गरिएको भिडियो बगदादी बसिरहेको परिसरमा हमला गर्ने सुरक्षाबलको हो । उक्त कारवाहीमा आइएसका ६ सदस्य जसमा ४ महिला र बगदादी २ युवक मारिएका छन् ।
जब बगदादीले आफैमाथि आत्मघाती विस्फोट गरे, १२ वर्षभन्दा कम उमेर दुई बालबालिका पनि मारिएका छन् ।
परिसरबाट बाहिर आउने गैर लडाकूहरुलाई हिरासतमा लिएर खोजतलास गरिएको थियो । हतियार र विस्फोटक नपाएपछि उनीहरुलाई रिहा गरिएको जानकारी दिइएको छ । उक्त समूहमा ११ बालबालिका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सिरियामा अमेरिकी सेनाले गरेको विशेष अपरेशनमा बगदादी मारिएको घोषणा गरेका थिए । उनले बगदादी लामो समयदेखि निशानामा रहेको र कयौँ वर्षदेखि खोजी गरिएको बताएका थिए ।
अमेरिकाको राष्ट्रिय आतंकवाद निरोधक केन्द्रका कार्यवाहक निर्देशक रसल ट्रेवर्सले बगदादी मारिएपछि आइएसले अब दुई हप्ताभित्र नयाँ नेताको नाम घोषणा गर्ने जानकारी दिए । उनका अनुसार आइएसले पश्चिमा देशबिरुद्ध नयाँ हमला गर्ने चेतावनी पनि दिएको छ ।