Logo
१९ बैशाख २०८१, बुधबार
(October 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट धोका भएपछि मोदीको नेपाल भ्रमण रद्द भएको खुलासा

नेपालबाट धोका भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण रद्द गरेको खुलेको छ । दोस्रो पटक प्रधानमन्त्री बनेपछि फेरि नेपाल आउने इच्छामा रहेपनि काश्मिर मामलामा भारतले अपेक्षा गरेको समर्थन नपाएपछि उनले नेपाल भ्रमण तय नगरेको बुझिएको छ ।

नेपालकै रवैयाका कारण मोदीको तत्कालै नेपाल भ्रमण नहुने दिल्ली स्थित सामरिक मामलाका जानकारहरु बताँउछन् । त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै भुटानपछि नेपाल आए ।

त्यसपछि सार्क शिखर सम्मेलन र बिमस्टेक राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन आए । चौंथोपटक उनले सांस्कृतिक भ्रमण गरे । जनकपुरमा सिधै उत्रिएका उनले मुक्तिनाथको समेत दर्शन गरेका थिए ।

भारतीय प्रधानमन्त्रीबाट १७ वर्ष हुननसकेको भ्रमण मोदीको कार्यकालमा भयो । त्यो पनि चारपटक । उनी एकै कार्यकालमा चारपटक नेपाल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्न सके ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीले नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो । उनलाई भ्रमण्को निम्तो पनि पठाइयो । तर, त्यसको कुनै संकेत सम्म मिलेको छैन । मोदीले दोस्रो कार्यकालभरी नेपाल भ्रमण गर्ने हुन् होइनन् भन्ने प्रश्न समेत उठेको छ ।

भारतमा भारतीय जनता पार्टी दोस्रो कार्यकालका लागि सत्तामा आएपछि विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आए । काश्मिरलाई विशेष राज्यको स्थान दिने भारतको संविधानको ३७० धारा खारेज गरिएको अवस्थामा जयशंकर नेपाल आए ।

काश्मिर मामलामा छिमेकी र अन्तर्राष्ट्रिय समुदायको समर्थन लिने सिलसिलामा भ्रमण भएको थियो । तर, सार्कको अध्यक्ष राष्ट्र भएकाले नेपाल काश्मिर मामलामा मौन बस्यो ।

नेपालबाट काश्मिर मामलामा भारतले अपेक्षा गरेको समर्थन नपाएपछि दिल्लीका सामरिक मामलाका जानकारहरुमाझ यसको चर्चा चल्यो । त्यसमाथि चीनको प्रभाव बढेको विषय जोडतोडले उठेको छ ।

विकसित घटनाक्रमका कारण मोदी गम्भीर बनेका छन् । सबैभन्दा नजिकको छिमेकको समर्थन नपाउनुले मोदी नेपालको वर्तमान सरकारप्रति असन्तुष्ट बनेको विश्लेषण भइरहेको छ ।

नेपालप्रति उनले निकै चासो देखाएका थिए । जुन उनको चार पटकको भ्रमणबाट देखिएको थियो । थाती रहेका कतिपय द्धिपक्षीय विकास निर्माण पनि अगाडि बढेको थियो ।

यस्तो अवस्था सृजना हुँदा पनि आवश्यक पर्दा साथ नपाएको भन्दै भारतमा वर्तमान सरकारप्रति धारणा नकारात्मक बन्दै गएको छ । यसकारण पनि मोदी नेपाल आउने सम्भावना कम हुँदै गएको देखिन्छ ।

प्रकाशित मिति: Oct 23, 2019

प्रतिक्रिया दिनुहोस्