Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनसुनको अवधि सकिए पनि यसकारण परिरहेको छ पानी

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष दसैँसम्मै पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन् । मनसुनी गतिविधि चलिरहेकाले यो वर्षको दसैँमा पनि सानो- ठूलो पानी पर्ने क्रम जारी रहने जनाइएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार आर्यालले अझै कम्तिमा पनि १ सातासम्म छ्याङ्ग उग्रिएर घाम लाग्ने सम्भावना नदेखिएको बताए । ‘अहिले पनि मनसुनी गतिविधि सक्रिय छ,’ मौसमविद् अर्यालले भने, ‘मनसुनी गतिविधि निस्क्रिय भएर पूर्ण रुपमा घाम लाग्ने सम्भावना कम्तिमा एक सातालाई देखिँदैन।’

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि २ दिन अघि नै सकिएको छ । तर, मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद् अर्यालले बताए ।

‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन,’ अर्यालले भने, ‘नेपालबाट मनसुन विदा हुन पश्चिमी वायूको प्रभाव बढ्नुपर्छ, तर अहिलेसम्म त्यो देखिएको छैन । बरु मध्य मनसुनकै जस्तो देशैभरी दक्षिणपूर्वी वायूकै प्रभाव छ ।’

सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिले पुरानो सेड्युल अनुशरण गर्न कम गर्दै गएको मौसमविद् अर्यालले बताए ।

‘नेपालमा मात्र होइन, विश्वभरी नै यस्तो गतिविधि बढेको छ । जलवायु परिवर्तन र विश्व तापमानको असरले यस्तो भएको हुनसक्छ,’ मौसमविद् अर्यालले भने ।

यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । यो भनेको मनसुनी गतिविधि सक्रिय नै रहँदाकै जस्तो अबस्था हो ।

मौसमविद् आर्यालले भने, ‘देशको पूर्वदेखि पश्चिमसम्मै जुनसुकै स्थानमा आज दिनभरी वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षासमेत हुन सक्छ ।’

अहिले काठमाडौं उपत्यकामा पनि पूर्ण रुपमा मौसम बदली छ । आकाश बादलले ढाकेको छ । काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा २८ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । गएको राति पनि काठमाडौँ उपत्यकामा वर्षा भएको छ ।

यस्तो छ महाशाखाको ३ दिने मौसम पूर्वानुमान :

असोज ०९ गते (बिहीबार)
दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभरी सामान्य बदली रहनेछ । देशका केहि स्थानमा गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १० गते (शुक्रबार)
दिउँसो :  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभरी सामान्य बदली रहनेछ । पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ११ गते (शनिबार)
दिउँसो :  देशभरी सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभरी सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका १ २ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्