Logo
५ जेष्ठ २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाइकाको निमन्त्रणामा मन्त्री पुन जापान जाँदै

काठमाडौं :  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ जापान भ्रमणमा जाँदै छन् । जापानी विकास नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार साँझ ४ दिने जापान भ्रमणमा जान लागेका हुन् ।

जापान भ्रमणमा जानुअघि उर्जामन्त्री पुनसँग जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

जापानी राजदूतले भेटमा मन्त्री पुनको जापान भ्रमण र त्यसका ऐजेण्डाबारे छलफल गरेका थिए । उर्जामन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सोमबार राति जापानको ओसाका जाने कार्यक्रम छ ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डेमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषी तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्रमन्त्रालयका उच्च अधिकारीका साथै नेपाल-जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्षसहतिका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले  जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र लगानीबारे समेत जापानी लगानीकर्तासंग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साईलगायतका विश्वप्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ ।

त्यसका साथै जापानमा बसोवास गरिरहेका नेपाली समुदायसंग समेत समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाइकाका उपाध्यक्षसँगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नेछन् । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण उक्त परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापान भ्रमणमा जान लागेका मन्त्री पुनका स्वकिय सचिव दुर्गा चापांगाईले जानकारी दिए ।

मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसंगको नलसिंङगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्