सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा
झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो ।
सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनसमेत सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताए ।
उनले भने, “सुत्केरी अवस्थामा पोषिलो खानेकुरा आवश्यक पर्छ, तसर्थ हामीले यस्तो अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि जसले महीनामा जति रुपैयाँ बचत गर्नुहुन्छ त्यत्तिनै रुपैयाँ सहकारीबाट दिन्छौँ ।”
उनका अनुसार सहकारीमा आबद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म उपहार पाएका छन् । अध्यक्ष दङ्गालले भने, “‘महीनामा ५०० बचत गर्ने महिलाले सुत्केरी हुँदा ५०० रुपैयाँ पाउनुहुन्छ भने मासिक ५ हजार रुपैयाँ जम्मा गर्ने महिलाले सुत्केरी हुँदा ५ हजार रुपैयाँ नै पाउनुहुन्छ ।”
सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ । आव २०७५/७६ मा सहकारीमा आबद्ध ४१ महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ । त्यस्तै ४१ नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार ५०० रुपैयाँ बचत गरिदिएको अध्यक्ष दङ्गालले बताए ।
त्यसो त कुनै पनि गर्भवती महिलाको स्वास्थ्य संस्थामा प्रसूति गराए सरकारले प्रोत्साहनस्वरूप आर्थिक सहयोग गर्ने गरेको छ । तर सहकारीले समेत आफ्ना शेयर सदस्यका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपछि ग्रामीणदेखि सहरसम्मका महिलालाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ ।
सहकारीमा आबद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताए । आव २०७५/७६ मा सहकारीमा आबद्ध ५ जनाको निधन हुँदा ४ लाख २८ हजार ५९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताए ।
उनले भने, “कनकाई नगरपालिका-७ निवासी पूजा दाहाल सापकोटाको श्रीमान्को निधन हुँदा रु १ लाख १४ हजार ८४५ ऋण मिनाहा भएको छ । त्यस्तै कनकाई-३ कै आशिवा खातुनको श्रीमान्को निधन हुँदा रु १ लाख ७५ हजार ऋण मिनाहा गरिएको छ ।”
सहकारीले उनीहरुजस्तै विर्तामोड-५ निवासी लीला सिंहको श्रीमानको निधन हुँदा रु ४३ हजार ७१०, भद्रपुर–७ निवासी भोटलाल गणेशकी श्रीमतीको निधन हुँदा रु ६९ हजार ५२३ र शिवसताक्षी-११ का चोले मेचेकी श्रीमतीको निधन हुँदा रु २५ हजार ४९७ ऋण मिनाहा गरेको बताइएको छ ।
जिल्लामा सञ्चालित अधिकांश सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तैखाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा विपन्न समुदायका महिलालाई सबैभन्दा बढी फाइदा पुग्ने गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बताए । उनले भने, “झापाका सबैजसो महिला कुनै न कुनै सहकारीमा आबद्ध छन् । यसबाट उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहकारीबाट सेवा लिएका छन् ।”
यता विर्तामोड नगरपालिकाभित्रै रहेको अर्काे एक सहकारीले विर्तामोड नगरभित्र भित्रिएका नव दुलहीलाई रु १ हजार उपहार प्रदान गर्दै आएको छ । तर, दुलाहा वा उनको परिवार विर्तामोडमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको हुनुपर्छ । सहकारीमा सबै दुलहीलाई आबद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ ।
विवाहमा हुने फजुल खर्चलाई घटाउँदै बचत गर्ने बानीको विकासका लागि सहकारीले नव दुलहीलाई सहकारीमा निःशुल्क खाता खोल्दै १ हजार रुपैयाँ बचत गर्ने कार्यक्रम अघि सारेको सहकारीका अध्यक्ष डम्बर विमलीले बताइन् ।
त्यस्तै सहकारीमा आबद्ध शेयर सदस्य भएका घरभित्र सुत्केरी भएका नाबालकको नाममा निःशुल्क खाता खोल्दै १ हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रमसमेत सहकारीले शुरु गरेको अध्यक्ष विमलीको भनाइ छ । यसबाट बालबालिकाको भविष्य सुरक्षित हुने र बचत गर्ने बानीको विकासले भावी दिनमा फाइदा पुग्ने सहकारीले लक्ष्य लिएको विमलीले बताइन् ।