Logo
६ जेष्ठ २०८१, आईतबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा मारिएका नेपालीको शव ल्याउन अध्यक्ष प्रचण्डले थाले पहल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पहल गरेका छन् ।

तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका-२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो ।

मृतककी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिए । उनको टेलिफोन लगत्तै शनिवार उनीहरूको मृत्युको प्रमाणपत्र आएको र सोमवार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताए ।

ग्रीन भिलेज क्याम्प विदेशी बस्ने भवन हो। ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परि मृत्यु भएको थियो ।

विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताए। मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्