Logo
२४ बैशाख २०८१, सोमबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिन मनाइँदै

आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँशी पर्व, आजका दिन वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर सोे कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन सनातन धर्मावलम्वीले घरघरमा कुश राखेर कुशको पूजा गर्ने गर्दछन् । कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । त्यसका साथै भगवान इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाउनुभएको पनि शास्त्रमा लेखिएको पाइन्छ ।

आज पितृसम्मानको पनि दिन रहेको छ जसमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ। यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए। अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्