Logo
५ जेष्ठ २०८१, शनिबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसी र कोल्ड ड्रिंक्सको लत छ भने तुरुन्त छाड्नुहोस् नत्र हुनसक्छ यस्ता समस्या

विज्ञानले चमत्कार गरेसँगै हाम्रो जीवन पनि ती विद्युतीय उपकरणहरुसँगै अगाडि बढेको छ । पहिला पहिला मानिसहरु गर्मीमा चौतारीमा बसेर चिसो हावा खान्थे । रुखको छहारीमा बसेर साथीभाइसँग घन्टौँ कुरा गर्थे ।

तर अहिले त्यस्तो माहोल पाइँदैन । अचेल हाम्रो अधिकांश समय कोठाभित्र बित्छ । टिभी, कम्प्युटर, स्मार्टफोनसँगै गर्मीमा एसी, पंखा र जाडोमा हिटर हाम्रा अभिन्न साथी बनेका छन् । तर, के यी सामग्रीले हामीलाई जस्तै हाम्रो स्वास्थ्यलाई पनि साथ दिइरहेका छन् त ? पक्कै पनि हैन ।

इलेक्ट्रोनिक्स र मौसम अनुकूलताका लागि प्रयोग हुने कृत्रिम उपकरणले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानसिक स्वास्थ्यमा इलेक्ट्रोनिक्सले पार्ने असरबारे अलि धेरै चर्चा हुने गरेको छ । तर, शरीरका विभिन्न अंग तथा प्रणालीमा यसले पार्ने प्रभावबारे खासै चर्चा भएको पाइन्न ।

कमैलाई थाहा होला, एसीले हाम्रो शरीरको सबैभन्दा मजबुत हिस्सा हड्डीलाई नै कमजोर पारिदिन्छ । पछिल्लो एक अध्ययनले लामो समय एसीमा बस्दा एसीको हावाले विस्तारै हड्डीलाई कमजोर बनाउँदै लैजाने देखाएको छ ।यसबाट कम उमेरमै हाडजोर्नीको समस्या देखा पर्ने सम्भावना ज्यादा रहन्छ ।

कम्प्युटर या टिभीको अगाडि लामो समयसम्म बस्ने, या एकैठाउँ घोत्लाएर मोबाइलमा गेम खेल्ने बानी छ भने पनि यो हड्डीका लागि यो राम्रो होइन । लामो समय एकैठाउँ बसिरहँदा शरीर चलायमान हुँदैन, जसले हड्डीमाथि नराम्रो असर पर्छ ।

गर्मीमा हाम्रो अर्को नजिकको साथी भनेकै कोल्ड ड्रिंक्स हो । पछिल्लो पुस्तामा कोल्ड ड्रिंक्सको आदत अलि बढी नै देखिन्छ । यस्ता सोडायुक्त ड्रिंक्सको अधिक सेवन हड्डीका लागि खतरनाक हुने पाइएको छ । अध्ययनहरुले देखाएका छन् कि सोडा ड्रिंक्समा हुने फस्फोरसले हड्डीलाई नराम्रो असर गर्छ ।

चिकित्सकका अनुसार पछिल्लो समय हड्डीका समस्या बढ्दै जानुमा मानिसले दूधको सट्टा सोडायुक्त ड्रिंक्स पिउने एक मुख्य कारण रहेको छ । उसो त चिया या कफीको अधिक सेवन पनि हड्डीका लागि राम्रो होइन । चिया, कफीमा हुने क्याफिनले पनि हड्डीमा क्याल्सियमको मात्रा घटाउँछ, जसले हड्डीलाई कमजोर बनाउँछ ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्