Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीहरुले हडताल गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं :  प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द रहडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तिका लागि पनि बन्दरहड्ताल गर्ने काम कर्मचारीहरुबाट भइरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले राज्यको सेवा, सुविधा लिएर बसेका कर्मचारीहरुले जनताको सेवा गर्नुको साटो हडताल गरेर बस्न नमिल्ने तर्क समेत गरेका थिए ।

सांसद सुवालले विशिष्ट श्रेणीका कर्मचारीहरुलाई मात्र नभई तल्लो तहका कर्मचारीलाई पनि सेवाबाट अवकाश पाउनु १५ दिन अघिदेखिनै विदा दिने कानुनी प्रबन्ध गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाका अर्का सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुलाई पनि संघमा सरुवा भएर आउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । उनले स्थानीय र प्रदेश तहमा गएका कर्मचारीहरुको सरुवा, वृति विकास हुने कुरालाई कानुनमै उल्लेख गरेर जान उपयुक्त हुने पनि स्पष्ट पारे ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका सबै कर्मचारीहरुको सरुवा हुने व्यवस्था गरिएको बताए । उनले संघीयता अनुकूल समायोजना गरिएका कर्मचारीहरुलाई सुरुवा, बढुवा र आवश्यक सबै सेवा, सुविधा दिने कुरामा शंका नगर्न पनि सबैलाई आग्रह गरे । मन्त्री पण्डितले कर्मचारीहरुलाई दिइएको जिम्मेवारी पूरा गर्न पनि सचेत गराए ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्