Logo
२ जेष्ठ २०८१, बुधबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासी देश भारतमा रोमाञ्चक प्रतिस्पर्धा 

Indian voters (L) stand in a queue to cast their vote as a polling official check their names on the lists at a polling station in Gurgaon, in the northern Indian state of Haryana on May 12, 2019, for the sixth phase of India’s general election. – Fifty-nine seats are up for grabs across the country on the sixth voting day of the marathon ballot. (Photo by Money SHARMA / AFP)

भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आइतबार छैटौँ चरणको मतदान सुरु भएको छ । दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटमा आइतबार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव अर्थात भारतीय लोकसभा चुनावसात चरणमा भइरहेको हो । यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।

भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो । भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१-५२ मा चुनाव भएको थियो ।

अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।

छैटौँ चरणको चुनाव सकिएपछि ४८४ सिटमा मतदान सम्पन्न हुनेछ । यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका सबै १०, बिहारका ८, पश्चिम बंगालका ८, मध्य प्रदेशका ८, दिल्लीका सबै सात र झारखण्डका चार सिटमा मतदान भइरहेको हो ।

पाँच वर्षअघि अर्थात सन् २०१४ मा यी ५९ मध्ये ४५ सिटमा हासिल गरेको थियो । सन् २०१४ को चुनावमा दिल्लीका सातै सिटमा भाजपाका उम्मेदवार विजयी भएका थिए ।

यसपटक चुनावमा शीला दीक्षित, विजेन्दर सिंह, गौतम गम्भीर, आतिशी मार्लेना, अजय माकन जस्ता नेता चुनावी मैदानमा छन् । उत्तर प्रदेशको आजमगढ सिटमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र भाजपाका दिनेश यादवबिच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

यस्तै केन्द्रीय मन्त्री मेनका गान्धी सुल्तानपुर सिटबाट चुनावी मैदानमा छन् । बिहारमा केन्द्रीय मन्त्री राधामोहन सिंह पूर्वी चम्पारणबाट चुनावी मैदानमा छन् । उनी त्यहाँबाट पाँचपटक सांसद बनेका छन् ।

मध्य प्रदेशका ८ मध्ये भोपालको प्रतिस्पर्धा रोमाञ्चक छ । भाजपाको गढ ठानिएको भोपालमा कांग्रेसका दिग्विजय सिंह मैदानमा छन्, उनी १६ वर्षपछि चुनावी मैदानमा उत्रिएका हुन् । भाजपाका तर्फबाट साध्वी प्रज्ञा चुनावी मैदानमा छन् ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।

अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।

किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।

सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ ।

निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।

अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ ।

लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ । पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो ।

यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो । भारतमा ५४३ लोकसभा क्षेत्र छन् ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्