Logo
२ जेष्ठ २०८१, बुधबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरजातीय विवाह गरेपछि बाबुले छोरी-ज्वाइँलाई जिउँदै जलाए

अन्तरजातीय विवाह गरेको भन्दै बाबुले आफ्नै छोरी-ज्वाइँलाई जिउँदै जलाएका छन् । भारतको महाराष्ट्रस्थित अहमदनगरको परनेर तालुकामा रहेको निक्सोज गाउँमा यो घटना भएको हो ।

रुक्मिणी र मंगेश रणसिंघेको ६ महिनाअघि विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेशसँग प्रेम विवाह गरेकी थिइन् । रुक्मिणी र मंगेशको जात मिल्दैनथ्यो ।

यसै कारण रुक्मिणीका पिता, काका र मामा मिलेर उनी र उनका पतिलाई जिउँदै जलाए । पिताको इच्छाविपरित विवाह गर्दा रुक्मिणीले ज्यान गुमाउनुपर्यो ।

विवाहपछि पनि रुक्मिणीको माइतीपक्षले उनीहरुको सम्बन्धको विरोध गरिरहे । यसबाट हैरान भएर रुक्मिणी र मंगेशले फेब्रुअरीमा माइतीविरुद्ध उजुरी पनि दर्ता गरेका थिए ।

रुक्मिणीका मातापिताले गएको अप्रिल ३० मा माइती बोलाएका थिए । उनलाई माइतीमा बोलाएर कुटपिट गरियो । यो घटनाबारे उनले आफ्ना पति मंगेशलाई फोन गरी जनाएकी थिइन् ।

अर्को दिन मंगेश आफ्नी पत्नीलाई लिन गए । त्यही समयमा उत्तर प्रदेश बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए । उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई कुटपिट गरेर डोरीले बाँधि पेट्रोल छर्केर आगो लगाइदिए ।

छिमेकीले घटनाबारे थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । रुक्मिणीको शरीर धेरै जलिसकेको थियो । उनको ज्यान गयो । उनका पति मंगेश रणसिंघेको उपचार भइरहेको छ । उनको अवस्था पनि चिन्ताजनक छ ।

परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लु पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको बीबीसीले जनाएको छ । रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्