Logo
१९ बैशाख २०८१, बुधबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवद्वारा ‘नेपाल बन्द’ आह्वान : ‘केपी-प्रचण्ड सरकारले फासिष्ट दमन गऱ्यो’

आफूहरूमाथि सरकारले ‘फासिष्ट दमन’ शुरु गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दमनको विरुद्धमा ‘नेपाल बन्द’ आह्वान गरेको छ । नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यही फागुन ३० गते नेपाल बन्द गर्न आह्वान गरेका हुन् ।विज्ञप्तिमा विप्लवले आफ्नो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको उल्लेख गर्दै ‘केपी–प्रचण्ड सरकार’ले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको जनाएका छन् ।

उनका अनुसार दमनका क्रममा २३ फागुन बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका–९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पुऱ्याई पुनः सुन्दरीडाँडा जङ्ल लगेर गोली हानी घाइते बनाइएको छ भने अन्य स्थानबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

विप्लवको विज्ञप्तिमा भनिएको छ- ‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्ठा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’

जनता र देशको हित, न्यायपूर्ण आवाज र सङ्घर्षविरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्ने दाबीसहित महासचिव विप्लवले भनेका छन्– ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ ।

ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताको हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडिरहेको छ । विडम्बना ! कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षार्थ हाम्रो पार्टीविरुद्ध दमन गरिरहेको छ ।’

आफ्नो हस्ताक्षरसहितको विज्ञप्तिमार्फत विप्लवले अन्तमा भनेका छन्– ‘हाल चलिरहेको फासिस्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिँदैन । जसरी शिवगढीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ ।

यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरि भइरहेको सेना, प्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखानालगायत सम्पूर्ण क्षेत्रहरू बन्द गरेर सहयोग पुऱ्याइदिनुहुन विशेष आग्रह गर्दछौँ ।’

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्