Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा अध्यक्षमण्डल भङ्ग गर्न सुझाव, बद्री मण्डललाई तत्कालै निष्काशन गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले नै प्रदेश १ लाई नेतृत्वले हेला गरेको गुनासो गरेका छन् । राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश १ बिराटनगरमा बसेको थियो । सो बैठकमा सहभागी हरेक नेताले राजपा नेपालका शीर्ष नेतालाई गुनासो गर्दै भनेका थिए, ‘राजपा नेपाल प्रदेश २ मा मात्र केन्द्रीत भएको र प्रदेश १ लाई बेवास्ता गरेको छ ।’

राजपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेको बताउँदै उनले प्रदेशस्तरीय बैठक सकेर केही ठोस निर्णय लिने प्रतिवद्धता समेत जनाएका थिए । बैठकमा राजपा नेपालका अध्यक्षमण्डल प्रणाली हटाउनुपर्ने सुझाव पनि आएको छ । अगामी बैशाखमा हुने महाधिवेशनपछि अध्यक्षमण्डल रहन नहुने सुझाव दिएको पार्टीका महासचिव रामलाल सुतियारले बताए ।

अध्यक्षमण्डल प्रणालीमा रहेका कारण पार्टी अगाडि बढ्न नसकेको बताउँदै प्रदेश १ का नेताहरुले तलदेखि माथिसम्म अध्यक्षमण्डल प्रणाली हटाउनुपर्ने सुझाव दिएको थियो । त्यसैगरी, बैठकमा राजपा नेपालका वरिष्ठ नेता बद्री मण्डललाई पार्टीबाट निष्काशन गर्न पनि माग गरिको थियो । ज्ञानेन्द्र शाह विराटनगर गएको बेला बद्री मण्डलले उनको स्वागत गरेका थिए । त्यसको बारेमा पनि बैठकमा जोडतोडले उठेको सुतियारले बताए ।

उनले भने, ‘बद्री मण्डल जस्ता गन्दकी (गन्हाउने) रहेसम्म पार्टी उँभो नलाग्ने कुरा मैले बैठकमा उठाए, अन्य नेताहरुले पनि बद्री मण्डलका कारण पार्टी बदनाम भइरहेको छ । प्रदेश १ मा पार्टीप्रति अकार्षण बढिरहेको बेला बद्री मण्डलले ज्ञानेन्द्र शालाई स्वागत गरेपछि कार्यकर्ताहरु भड्किएको कुरा मैले राखेको छु ।’ बद्री मण्डलको बारेमा उठेको विषयमा पनि पछि निर्णय गर्ने अध्यक्षमण्डलका सदस्यहरुले प्रतिबद्धता जनाएको सुतियारले बताए ।

प्रदेश १ को राजधानी बिराटनगरमा फागुन १५ गते बसेको बैठकमा त्यहाँका नेताहरुले पार्टीका सबै शीर्ष नेताहरु प्रदेश २ का रहेको र सबै गतिविधिहरु त्यही केन्द्रीत रहेको भनि आलोचना गरेका हुन् । बैठकमा सहभागी राजपा नेपालका प्रवक्ता सन्तोष मेहताका अनुसार प्रदेश १ लाई केन्द्रबाट हेलाँ भएको गुनासो भएको बताए ।

केन्द्रीय तहबाट प्रदेश १ माथि ध्यान दियो भने यहाँ राम्रो संगठन बन्न सक्ने तर त्यति ध्यान नदिएको गुनासो नेताहरुको रहेको मेहताले बताए । ‘प्रदेश २ जस्तै राजपा नेपालका लागि प्रदेश १ पनि निकै सम्भावना भएको ठाउँ हो, यहाँ पनि मधेशी, थारु, आदिवासी जनजातिको बाक्लो उपस्थिति छ, त्यसको व्यवस्थापन गर्न सकियो भने प्रदेशको नेतृत्व लिनै अवस्थामा पुग्न सक्ने’ मेहताको दावी थियो ।

यसका लागि योजनाबद्ध तरिकाबाट जानुपर्ने कुराहरु बैठकमा उठेको उनले बताए । पहाडमा राई, लिम्बु र मधेशमा थारु, मुसलमान, कोच लगायतलाई पार्टीमा समेटिनुपर्ने योजना पनि बैठकमा सुनाइएको थियो । त्यसका लागि पार्टीको शीर्ष तहले भूमिका खेल्नुपर्ने अधिकांशको धारणा थियो ।

त्यसको जवाफमा केन्द्रीय अध्यक्षमण्डलका सदस्यहरुले राजपा नेपालले कुनै पनि प्रदेशमाथि भेदभाव नगरेको दावी गरेका थिए । अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले प्रदेशमा केही तलमाथि भएको भन्दै त्यो तत्कालीन परस्थितिले गराएको हो, तर सबै प्रदेशलाई नेतृत्वले समान दृष्टिले हरेको स्पष्ट पारेका थिए ।

 

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्