Logo
६ जेष्ठ २०८१, आईतबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँखा उपचारका लागि ९५ प्रतिशत भारतीय नेपालमा

चितवन :  नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् ।

सङ्घले विसं २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ प्रतिशत भारतीय नागरिक रहेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अस्पतालमा उपचारका लागि भारतका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् ।

अस्पताल रहेको ठाउँबाट भारतीय सीमा ३ किलोमिटर टाढा पर्दछ, जहाँ दैनिक सरदर ५ जनाको शल्यक्रिया हुँदै आएको छ । गौतमनगरमा रहेको विद्यालयको भवन भाडामा लिई सेवा दिँदै आएकामा केही दिनमै अस्पतालको आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको छ । अस्पतालमा १ नेत्र विशेषज्ञसहित ९ प्राविधिक कर्मचारीले काम गर्दै आएका छन् ।

नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार भारतको बिहारभन्दा सेवा राम्रो र सस्तो भएकाले भारतीय नागरिक उपचारका लागि ठोरी आउने गरेका छन् । यस्तै बाराको सिम्रौनगढमा पनि आँखा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा ३० प्रतिशत भरतीय नागरिक रहेको धरेलले जानकारी दिए । भरतपुर आँखा अस्पतालमा उपचार गराउन आउनेमध्ये ३ प्रतिशत विदेशी नागरिक छन् ।

अस्पतालले विभिन्न सेवाकेन्द्रमार्फत वार्षिक १ लाख ५० हजार बढी बिरामीलाई सेवा दिँदै आएको छ । ठोरीमा मात्रै गत वर्ष ७ हजारले सेवा लिएका थिए । चालू आर्थिक वर्षमा सङ्ख्या बढ्दो रहेको छ । पुस मसान्तसम्ममा ५ हजार ६०० ले सेवा लिइसकेका छन् ।

 

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्