Logo
२३ बैशाख २०८१, आईतबार
(February 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि आहा-रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र एपीएफको भिडन्त

पोखरा : मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु हुँदै छ । पोखरा रंगशालामा सहारा क्लबले गर्दै आएको गोल्डकपको यो १७ औं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच हुने छ । तर यतिबेला यी दुवै टिममा स्टार खेलाडी छैनन् । एपीएफका प्रमुख खेलाडीमध्ये केही घाइते भएर अनुपस्थित छन् । सहाराले भने ३ विदेशी खेलाडीसहित नयाँ खेलाडीलाई मैदान उतार्न लागेको छ ।

ट्रफी, मेडलसहित ८ लाख रुपैयाँ पुरस्कार राशीको गोल्डकपको उपाधि चुम्न १० टिम प्रतिस्पर्धामा छन् । प्रतियोगितामा ३ विभागीय, २ विदेशी र ए डिभिजन तथा मोसफलका टिम सहभागी छन् । मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब सुनसरी, युनाइटेड सिक्किम फुटबल क्लब भारत, थ्रिस्टार क्लब, सहारा क्लब पोखरा, डफिन्स फेमिली टिम फुटबल क्लब, क्यामरुन र हिमालयन शेर्पा क्लबबीचको उपाधि होडमा कसले बाजी मार्ला भन्ने पूर्वानुमान गर्न सहज छैन ।

‘हाम्रा केही खेलाडी अभ्यासका क्रममा घाइते भए भने केही अन्डर २१ मा छनोट भएपछि भारतको गुहाटीमा खेलिरहेका छन्,’ एपीएफ टिमका असिस्टेन्ट म्यानेजर अरुण केसीले भने, ‘तर, पनि हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’ सहारा टिमका प्रशिक्षक प्रल्हाद हिराचनले सहारामा पुराना, अनुभवी र स्टार खेलाडी नहुँदा कसको कप्तानी भन्ने नै नभएको बताए ।

‘अनुभवी र स्टार खेलाडी छैनन् तर ३ विदेशीसहित नयाँ युस्ताका खेलाडीको जोस, जाँगर लिएर मैदान उत्रदैछौं,’ हिराचनले भने, ‘राम्रो प्रदर्शन गर्नेमा खेलाडी ढुक्क छन्, म पनि ढुक्क छु ।’ एपीएफका राजेन्द्र राउत, नवीन लामा, श्याम नेपाली र आदित्य चौधरी घाइते भएर आराम गरिरहेको म्यानेजर अरुणले जानकारी दिए । यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजन गुरुङ, विश्वास उदास र राजीव लोप्चन अन्डर २१ मा पर्न सफल भएपछि भारतमा खेलिरहेका छन् ।

पोखरामा यसअघि भएको मनकामना केबलकार पोखरा कपमा उत्कृष्ट गोलरक्षक घोषित एपीएफका राजु नगरकोटी पनि आहा–रारा गोल्डकप फुटबलमा उपस्थित छैनन् । प्रमुख खेलाडीबिनाको टिमको कप्तानी टोपबहादुर विष्टले गर्ने छन् । रमेश दंगाल डिफेन्समा उत्रने छन् । एपीएफको जितका लागि सरोज कोइरला, सन्दीप शिख्राकार, रामकुमार कुमाल, वुद्धिमान राई, सन्तोष श्रेष्ठ, प्रदीप लामा, अशिष लामा, युवराज खड्का र गोलकिपर अमृत चौधरी मैदान उत्रने छन् ।

१७ औं संस्करणसम्म आइपुग्दा एपीएफले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन । एकपटक फाइनलमा खेले पनि नेपाल पुलिससँग हारेको थियो । कुनै बेला आयोजक सहारा क्लब पनि बलियो थियो । तर अहिले कहलिएका खेलाडी सहारामा छैनन् । सहाराले १२ औं संस्करणमा आहा-राराको उपाधि हात पारेको थियो । अहिले ३ नाइजेरियन खेलाडीसहित टिम मैदान उत्रन लागेको हो । सहारामा अधिकांश पोखराकै खेलाडी रहेको प्रशिक्षक हिराचनले जानकारी दिए ।

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्