Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री महासेठको जोडबलमा नसियत पाएका प्रहरी निरीक्षकलाई दिए इञ्चार्जको जिम्मेवारी

काठमाडौं : धनुषास्थित इलाका प्रहरी कार्यालयले कारबाहीमा परेको प्रहरी निरीक्षकलाई आकर्षक पोस्टिङ दिएको छ । इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा नसियत पाएका प्रहरी निरीक्षक अरुण कुशवाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको जोडबलमा कुशवाहलाई मकवानपुरको औद्योगिक क्षेत्र पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज दिइएको छ । कुशवाहले महेन्द्रनगरमा रहँदा ११ मंसिरमा नसियत पाएका थिए । जिल्लाबाट अनुगमनमा खटिएको टोलीसँग दुर्व्यवहार र सही ढंगले कार्यसम्पादन नगरेको आरोपमा उनीमाथि कारबाही भएको थियो ।

संगठनको आचरण र मर्यादा विपरित काम गरेको आरोपमा नसियत दिइएलगत्तै उनलाई काजमा जिल्ला प्रहरी कार्यालय, ओखलढुंगा पठाइएको थियो । तर, उनी अटेर गरेर प्रहरी मुख्यालयमै हाजिर गरेर बसे । अहिले मकवापुरको इप्रकाको नेतृत्व पाएका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एक उच्च अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै केही साताअघि उनलाई त्यहाँ प्रहरी प्रधान कार्यालयले खटाएको पुष्टि गरे ।

ती अधिकारीका अनुसार पशुपतिनगरका पूर्वप्रमुखले अनिवार्य अवकाश पाएपछि त्यहाँको दरबन्दी खाली थियो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने पशुपतिनगर प्रहरी निरीक्षकलाई पुरस्कृत गर्ने खाल्को पोस्टिङ नभएको दाबी गरे ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्