Logo
२३ बैशाख २०८१, आईतबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसले माघ २१ को देशव्यपी विरोध प्रदर्शन फिर्ता नलिने तर संसद चल्न दिने

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, काँग्रेस नेताका नाममा रहेका अस्पताललाई प्रदेश सरकार मातहत राख्ने सरकारी निर्णय र विपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक निकायमा नियुक्ति लगायतका विषयलाई लिएर काँग्रेसले माघ २१ लाई तय गरेको देशव्यपी विरोध प्रदर्शनलाई यथावत राख्ने भएको छ ।

गत माघ १३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले सरकारका कामकारवाही र निर्णयविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर, यसबीचमा उसका दुईवटा माग पुरा भइसकेका छन् । जसअन्र्तगत डा। गोविन्द केसीले आफ्नो अनशन स्थगन गरेका छन् भने काँग्रेस नेताका नाममा रहेका अस्पतालहरु केन्द्र सरकार मातहत नै सञ्चालन हुने सरकारले निर्णय गरिसकेको छ ।

किन त विरोध प्रदर्शन ?
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ २१ को विरोध प्रदर्शनको निर्णय एकदुई वटा मात्रै मुद्दालाई लिएर गर्न लागिएको होइन । उनका अनुसार यो बीचमा काँग्रेसका केही माग सम्बोधन भएपनि धेरै जनसरोकारका मुद्दा सम्बोधन हुन बाँकी छन् ।

‘संवैधानिक निकायका प्रमुखको नियुक्ति, निर्मला हत्या प्रकरणका दोषीको पहिचानमा भएको ढिलाई, सरकारी सम्पत्तिको दुरुपयोग लगायतका विषय बाँकी नै छन् । त्यसैले माघ २१ को विरोध प्रदर्शन फिर्ता हुदैन । बरु अझ प्रभावकारी ढङ्गले अगाडी बढाउँछौ’ काँग्रेस प्रवक्ता शर्माले रातोपाटीसँग भने ।

संसद अवरोधबारे निर्णय गर्ने
यसअघि काँग्रेसले यिनै मुद्दा उठाएर संसद बैठक समेत अवरुद्ध गर्दै आएको थियो । तर, आज बस्ने संसद बैठक अवरोध नगर्ने काँग्रेसको भनाई छ ।

काँग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेक पारित भएपछि थप चिढिएको काँग्रेसले संसद अवरोध गर्ने या नगर्ने भनेर औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । आइतबार १ बजे बैठक बोलाएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । उनले संसद बैठक अवरोध नगर्ने संकेत गर्दै भने, ‘बैठक चल्छ होला ।’

उनले संसद अवरोध गर्ने या नगर्ने भन्ने विषयमा बैठकमा छलफल हुने पनि बताए । ‘सरकार र सभामुखको भूमिका बदलिएन भने अवरोध कायमै रहन्छ । तर सभामुखले सभामुखकै भूमिका देखाउनुभयो भने अवरोध हुदैन’ सचेतक खाँणले रातोपाटीसँग भने । त्यस्तै खाँणले शान्ति सुरक्षा, महंगी, निर्मला पन्त हत्या लगायतका विषयलाई काँग्रेसले अबको एजेण्डा बनाउने बताएका छन् ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्