Logo
२३ बैशाख २०८१, आईतबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगमा गरिएको सिफारिसप्रति कांग्रेसको असहमति, संसदीय समितिको बैठक गर्यो बहिस्कार

काठमाडौं : आइतबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेका छन् । आज बसेको बैठकमा माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई समितिको बैठक बहिस्कार गरेका हुन् ।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै बसेको बैठक गैरकानूनी भएको दावीसमेत गरेका छन् । कांग्रेसले उक्त निर्णयको कागजात मगाई सुनुवाई समितिले छानबिन गर्नुपर्ने माग गरेको छ । आइतबारको बैठकमा संवैधानिक आयोगमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान गर्ने विषयमा छलफल सुरु भएपछि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताविना भएको निर्णय मान्य नभएको बताए ।

‘प्रतिपक्षीको अस्तित्वलाई सरकारले स्वीकार गर्नुपर्छ, संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको असहभागितामा निर्णय भएको छ । यसमा असन्तुष्टि भएको छ । त्यसको कागजात मगाएर हेरौं’ उनले बैठकमा भने । तर सभापति लक्ष्मणलाल कर्णले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने त्यसबीचमा छलफल गर्न सकिने बताए । ‘उजुरी आह्वान गरेर जाऔं, १० दिनको समय छ । यसबीचमा छलफल गर्न सकिन्छ’ उनले भने ।

त्यसपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरु कार्की, जीतेन्द्र देव, पुष्पा भुसाल लिखित असहमति बुझाएर बैठकबाट बाहिरिएका हुन् । गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्ष नियुक्ति गरेको थियो । तर उक्त निर्णय गर्दा परिषदको सदस्य तथा विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी थिएनन् ।

 

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्