Logo
२३ बैशाख २०८१, आईतबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समयमै महाधिवेशन नभए स्थानीय, प्रदेश र संघीय चुनाव कांग्रेसले जित्न नसक्ने दावी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चौधौं महाधिवेशन २०७६ सालभित्रै गर्नका लागि कार्यतालिकासहितको प्रस्ताव पेश गरेका छन् ।केन्द्रीय कार्य समिति बैठकमा पौडेलले पेश गरेको लिखित प्रस्तावमा शेरवहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल थप्नु अनैतिक हुने चेतावनी समेत दिएका छन् ।

‘उज्यालो भविश्यका लागि समयवद्ध काम गरौं’ भन्ने पौडेलको प्रस्ताव केन्द्रीय कार्य समितिमा छलफलका लागि पेश भएको हो । पौडेलले फागुन १ गतेबाटै मुलुकभर पारदर्शी ढंगले सदस्यता वितरण र २०७६ असोज मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न गर्ने प्रस्ताव राखेका छन् ।

देउवा पक्ष महाधिवेशन एक वर्ष सार्ने चलखेलमा लागेको आशंकापछि पौडेलले कार्यतालिकासहित प्रस्ताव ल्याएका हुन् । उनले समयमै महाधिवेशन नभए आउँदा स्थानीय, प्रदेश र संघीय चुनाव कांग्रेसले जित्न नसक्ने दावी समेत गरेका छन् । पौडेलको प्रस्तावमा भनिएको छ-(क) विधानले तोकेको ४ वर्षको यो कार्यसमितिको कार्यकाल २०७६ भित्रै चौधौ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका बमोजिम काम होस् ।

अन्यथा आउँदा स्थानीय, प्रदेश र संघीय चुनाव सफल गर्न हामीलाई मुश्किल पर्छ । गत निर्वाचनहरुको पराजयको जिम्मा यो नेतृत्व र कार्यसमितिले लिइसकेको हुँदा कार्यकाल थप्नु अनैतिक पनि हुन्छ । पौडेलले आगामी मंसीर मसान्तसम्म गाउँरनगर र वडा समितिको निर्वाचन सम्पन्न गर्ने र यसै अवधिमा वडा समितिहरुले आवश्यकता अनुसार टोल र वुथ समितिहरु गठन गरी क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।

त्यस्तै अर्को वर्षको पुस मसान्तसम्म निर्वाचन क्षेत्र र जिल्लाका अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । त्यस्तै अर्को वर्षको माघ १६ गतेसम्म प्रदेश अधिवेशनहरु सम्पन्न गर्ने र फागुन ७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने प्रस्ताव देउवा समक्ष राखेका छन् । पौडेलले २०७७ साल नव निर्वाचित समितिहरुलाई वैचारिक तथा संगठनात्मक तालिम दिने वर्षको रुपमा मनाउन र २०७८ साल आगामी निर्वाचनहरुको तयारीका वर्षका रुपमा मनाउने प्रस्ताव राखेका छन् ।

संविधान अनुसार २०७९ मा तीनै तहका निर्वाचन गर्नुपर्नेछ । पौडेले २०७८ साललाई चुनावी मुद्धाहरुको प्रचार र प्रशिक्षण, मतदाता नामावली थप्ने र उमेदवारको खोजी गर्ने आदि निर्वाचनमुखी आभियान देशव्यापी रुपमा सञ्चालन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ नेता पौडेलले केन्द्रीय अनुशासन समिति र केन्द्रीय निर्वाचन समितिको गठन तत्काल सहमतिका आधारमा गर्नुपर्ने र नयाँ बिधान अनुसार निर्वाचन हुने पदहरुमा निर्वाचनबाटै पूर्ति गरिनुपर्ने माग राखेका छन् ।

सात बुँदे उनको प्रस्तावमा सरकारका गलत कामको भण्डाफोर गर्न सशक्त कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्