Logo
२३ बैशाख २०८१, आईतबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको सेवालाई गुणस्तरीय बनाउन स्वास्थ्य मन्त्रालयलाई बजेटको अभाव, अर्थ मन्त्रालयसगँ गुनासो

काठमाडौं : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव रहेको बताएका छन् । उपप्रधानमन्त्री यादवले आफूले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन प्रयास गरिरहे पनि बजेटको अभावमा त्यसमा सुधार आउन नसकेको पनि स्पष्ट पारे ।

बुधबार मन्त्रालयले गरेको कार्यप्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालयका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो पनि गरे । उनले अर्थमन्त्रालयले आवश्यक्ता अनुसार बजेटको व्यवस्था गरे अस्पतालको सेवा गुणस्तरीय बनाउने कामले तीव्रता पाउने विश्वास पनि व्यक्त गरे । जनशक्तिको अभावमा पनि अस्पतालहरुको गुणस्तर वृद्धि गर्न कठिनाई भइरहेको उपप्रधानमन्त्री यादवको भनाई छ ।

सरकारले चालू आर्थिक वर्षका लागि कूल बजेटको ४ प्रतिशत बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि छुट्टयाएको छ । सो बजेट तलब भत्तामै खर्च हुने भएकाले अस्पतालको सुधार गर्ने आफ्नो प्रयास असफल हुन गएको उपप्रधानमन्त्री यादवको भनाई छ ।उपप्रधानमन्त्री यादवले अस्पतालहरुमा गुणस्तरीय सेवा दिन नसक्दा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी हुन नसकेको स्मरण गराए ।

उनले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सबै प्रदेशमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने गरी अस्पतालहरुको स्तरोन्नति गर्ने तयारी गरिरहेको पनि बताए । उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी स्वास्थ्यसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद बैठकबाट सैद्धान्तिक स्विकृति लिएको, विराटनगरस्थित कोशी अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र डडेलधुरामा रहेको उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको टरसरी अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियालाई अघि बढाइएको पनि जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्