Logo
१८ बैशाख २०८१, मंगलबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५२ हेक्टर क्षेत्रफलमा फैलिएको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने

सुरुङ्गा : झापाको शिवसताक्षी नगरपालिका-७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको बिउ कृषकलाई उपलब्ध गराउँदै आएको सो फार्मलाई थप व्यवस्थित गरिने भएको हो ।

नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले फार्मबाट कृषकले जुनसुकै जातका बिउबिजन तथा माछाका भुरा उपलब्ध गराउन नयाँ कार्यक्रम शुरु गरिने जानकारी दिए । जसका लागि नगरपालिकाले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरिसकेको नगरप्रमुख शेर्माले बताए ।

चौरासी बिघा अर्थात ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मको २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका बिउ उत्पादन गरी कृषकलाई वितरण गर्ने गरेको फार्मका प्रमुख धनबहादुर थापा मगरले बताए । उनका अनुसार फार्ममा अहिले तीन हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको छ ।

बाह्र हेक्टर क्षेत्रफलमा कार्यालय भवन, बाटो, कुलो, आवासगृह निर्माण गरिएको छ भने पाँच हेक्टर क्षेत्रफलमा सुकुमबासी बसोवास गर्दै आएका छन् । त्यस्तै छ हेक्टर क्षेत्रफल सताक्षी खोलाले कटान गरेको कार्यालय प्रमुख मगरले बताए ।

अहिले फार्मको सात हेक्टर क्षेत्रफलमा गहुँ, तीन तीन हेक्टर क्षेत्रफलमा तोरी र मुसुरो दालको बीउ, आठ हेक्टरमा चैतेधान लगाइएको कार्यालय प्रमख मगरले बताए । उनका अनुसार २५ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ ।

नेपाल सरकारले विसं २०५२ मा स्थानीय कृषकलाई आवश्यक पर्ने विभिन्न जातका कृषि उपजको बिउ सहजरूपमा उपलब्ध गराउन र कृषि अनुसन्धान केन्द्र बनाउन यो क्षेत्रको निर्धारण गरेको थियो ।  सोही अनुसार अहिले पनि सो फार्मले स्थानीय जाताका बिउको उत्पादन र संरक्षण गर्दै आएको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए ।

विसं २०३२ मा कन्काई सिँचाइ योजनाअन्तर्गत स्थापना भएको कृषि विकास फार्मलाई २०४८ सालमा सिँचाइ योजना विघटन भएपछि चार वर्ष कृषि मन्त्रालयले आफ्नो स्वामित्वमा सञ्चालन गरेको थियो । विसं २०५२ मा मन्त्रालयले चन्द्रडाँगी बिउबिजन तथा दूग्ध विकास समिति बनाएर समुदायमा हस्तान्तरण गरेसँगै सरकारी लगानी बन्द भएको थियो ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्