Logo
२० बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैनालीले अष्ट्रेलिया बसेर गरेको मिहेनत, अब काठमाडौँको अरुपण आर्ट ग्यालरीमा प्रदर्शन

काठमाडौँ : चित्रकार रुमिना मैनालीलाई चहकिलो रङसँग चित्र कोर्न मन पर्छ । रङसँगै विशेष खालको रसायनको सहायताले चित्र बनाउन पारङ्गत काठमाडौँ निवासी उनले दुई वर्ष अष्ट्रेलिया बसेर ३२ चित्र बनाए । फरक विधाको चित्रकलामा रुचि राख्ने उनका ती चित्र अहिले काठमाडौँको अरुपण आर्ट ग्यालरीमा प्रदर्शनका लागि राखिएको छ ।

रङ्गमा रसायन मिसिएपछि उठ्ने फोकालाई काल्पनिकरूपले चित्रमा उतार्नु सामान्य होइन । त्यही असामान्य खालका अमूर्तकलालाई उनले क्यान्भासमा उतारेका हुन् । एक्रेलिक रङलाई अन्य रसायनसँग मिसाएर बनाइएका उनका अमूर्त चित्रमा कतै समुन्द्र देखिन्छ भने कतै सुन्दर हरियाली पहाड, कतै खोल्सी त कतै सुन्दर फाँटका गह्राको अनुभूति हुन्छ । अमूर्तभित्र पनि मूर्त तस्वीर चित्रमा झल्किएको पाइन्छ ।

“यसमा अमूर्तसँगै केही बिम्व पनि मिसाउन सकिने क्षमता प्रदर्शन गर्न सकिन्छ, केही फरक गरौँ भनेर यस्ता चित्र बनाएकी हुँ ।” रुमिनाले भने । नेपालमा विकसित नभइसकेको चित्रकलामा ‘फ्लूड अब्स्ट्रयाक’ विधा अपनाउनु भएकी उनले ती चित्र बनेपछि आफूलाई फरक–फरक सन्तुष्ठी मिल्ने बताए ।

बुबा रमेश खनालले बनाएको चित्रबाटै प्रेरित भएर आफूले पनि चित्र कोर्न थालेको रुमिनाले बताए । चहकिलो रङसँग खेल्न मन पराउने रुमिना रङहरुलाई खुशी र रमाइलोको प्रतीक सम्झन्छिन् । अष्ट्रेलिया बसाइमा अनलाइन अध्ययनका साथै त्यहाँका सङ्ग्रहालयको अवलोकन र चित्रकारसँगको सम्पर्कमा यस्तो कला सिकेको उनले बताए ।

‘फ्लूड अब्स्ट्रयाक’ विधाका चित्रका लागि नेपालमा रङ त पाइन्छ तर रसायन नपाइने भएकाले नेपालमा बसेर यसलाई निरन्तरता दिन कठिन छ । अष्ट्रेलियामा आफ्नै पेन्टिङ स्टुडियोमा काम गर्दै आउनुभएकी रुमिनाले नेपालको तुलनामा अष्ट्रेलियामा चित्रमा प्रतिस्पर्धा बढी हुने भए पनि बजार राम्रो हुने बताए ।

विगत दुई वर्षको प्रयासमा तयार भएका ३२ चित्र अहिले उक्त ग्यालरीमा प्रदर्शनीका लागि राखिएको छ । यो उनको तेस्रो चित्रकला प्रदर्शनी हो । सन् २००६ मा ‘इम्प्रेसन एफ्ट पिकासो’ नामको एकल चित्रकला र सन् २०१३ मा ‘क्रियशन’ नामको दोस्रो चित्रकला प्रदर्शनी भएको थियो ।

सानैदेखि नवीन चित्रकलामा रम्ने रुमिनको चित्र फरक खालको रहेको कला समिक्षकसमेत रहनुभएका उनका बुबा रमेश खनालले बताए । उनका चित्रमा कतै नीलो, कतै हरियो, कतै गुलाबी त कतै बैजनी रङको संयोजनमा थरिथरिका अमूर्तचित्र भित्र मौलिकता तिखारिएको पाइन्छ । तरलता, बहाब, लयात्मकपन र गतिशीलपन रुमिनाका चित्रका विशेषता भएको कला समीक्षक यमप्रसाद शर्माले बताए ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्