Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीका लागि सहजता : आजदेखि जनकपुरबाटै श्रम स्वीकृति, कहाँ छ कार्यालय ?

जनकपुरधाम : वैदेशिक रोजगारीमा जानेहरुले आजबाट जनकपुरबाट पनि श्रम स्वीकृति पाउने भएका छन् । रकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै श्रम स्वीकृति सेवा प्रदान गर्न लागेको हो ।

पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जनकपुरको क्याम्पसचोक र मुरलीचोकको बिचमा पश्चिम तर्फ रहेको श्रम कार्यालयबाट प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यालय प्रमुख मनोज यादवले बताउनुभयो ।

उहाँका अनुसार सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत यस कार्यालयबाट सम्पादन हुने छ । आज विहान १० बजे एक समारोहबीच श्रम स्वीकृति कामको उदघाटन गरेर शुरुवात गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्