Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिदीपानीमा १४५ महिलाले लिए निःशुल्क स्वास्थ्य शिविर

बेझाड :  माथागढी गाउँपालिका-१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् । घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार नियोजनको पाँच वर्षे अस्थायी साधन इम्प्लान्ट सेवा र आइयुसिडी सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले जानकारी दिएका छन् ।

पाठेघरको मुखको क्यान्सरसम्बन्धी १३९ जनाले स्वास्थ्य परीक्षण गराएकामा १३३ जनाको शिविरमा उपचार गरिएको थियो । छ जनालाई परीक्षणका लागि अन्यत्र रिफर गरिएको चिदीले बताए । दुसई सय पाँच जनाले अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सेवा र चार जनाले आइयुसिडी सेवा लिएका छन् ।

गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि यहाँका महिलालाई ठूलो सहयोग मिलेको छ । गाउँघरमा अझैपनि रोग लुकाएर बस्ने र स्वास्थ्य संस्थामा पुगेर परीक्षण नगराउने प्रबृत्ति छ । बेला बेलामा हुने यस्ता शिविरमार्फत महिलाले आफ्ना समस्या खुलेर राख्ने गर्छन् ।

यहाँका महिलामा पाठेघरको समस्या अत्यधिक छ । स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका र आर्थिक अभावमा उपचारमा समस्या झेल्दै आएका विपन्न र दलित महिलालाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र उपचार सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।

“बेला बेलामा गाउँ बस्तीमै पुगेर स्वास्थ्य शिविरमार्फत उपचार सेवा दिँदै आएका छौँ” उनले भने,  गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण तथा औषधी उपचार सेवा प्रदान गर्दै आएको छ । शिविरमा जिल्ला अस्पताल र परिवार नियोजन सङ्घका तालीम प्राप्त स्वास्थ्यकर्मीको टोली संलग्न थियो ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्