Logo
६ जेष्ठ २०८१, आईतबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले भारतलाई बेच्यो ७ करोडको विद्युत, कुलमानको टोली भारत जाने

काठमाडौं : यो वर्ष नेपालले भारतलाई सात करोड रुपैयाँ बराबराबको विद्युत बिक्री गरेको छ। नेपालले ४० अर्ब रुपैयाँ बराबरको विद्युत भारतबाट खरिद गरेकोमा १.७५ प्रतिशत बरारबको विक्री गरेको हो। ‘हामीले विद्युत् किन्छौँ भन्ने मात्रै होइन बेच्न पनि सुरु गरेका छौँ, यो वर्ष सात करोड रुपैयाँ बराबरको विद्युत् बिक्री भएको छ’ ऊर्जा जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनले सोमबार आयोजित कार्यक्रममा भने ‘तर, ४० अर्बको विद्युत किन्नुपरेको कारण सात करोड रुपैयाँ हामीले कटाएर पैसा दिएको कारण हल्ला नभएको हो।’

उनले भारतले हालै जारी गरेको विद्युत निर्देशिकाले नेपालको विद्युत व्यपारमा सहज भएको बताए। यसअघि गरिएका सहमति भारतको तर्फबाट कार्यान्वयनमा आउन नसकेको अवस्थामा यो अहिले जारी गरेको निर्देशिकाले ऊर्जासम्बन्धी सम्झौताहरू कार्यान्वयन भएको बताएका हुन्। ‘दुई देशबीच र वा क्षेत्रीयस्तरमा यसअघि गरिएका सम्झौता भारतको ऊर्जा नीतिअनुसार मेल खाएको थिएन अब भने ऊर्जाको क्षेत्रीय व्यपारका साथै दुई देशको व्यापारमा सहयोग पुगेको छ’ मन्त्री पुनले भने।

उनले भारतको यो नीतिले नेपालमा ऊर्जाको लगानीसमेत बढ्ने विश्‍वास लिएको बताए। उनले अहिलेको नीतिको कारण भारतले मागेको बिजुली दिने सम्झौता गर्न नसकेको अवस्थामा अब भने सहज हुने बताएका हुन्। ‘भारतको सरकारी कम्पनीले हामीलाई २५ वर्षसम्मको लागि १५ सय मेगावाट विद्युत् खरिद गर्ने सम्झौता खोजेको थियो हिजोको नीतिअनुसार सक्ने अवस्था थिएन अब सहज भएको छ’ पुनले भने।

यसअघि, भारतबाट तेस्रो देशमा विद्युत लैजानसमेत समस्या पर्नसक्ने सम्‍भावना भएकोमा अब यो बाटो पनि नरहेको बताएका छन्। उनले भारतको यस्तो नीति आउनुका पछाडि सरकारले पनि धेरै कारम गरेको बताएका हुन्। ‘हामीले लामो समयदेखि भन्दै आएका थियौँ, बंगलादेश र नेपालबीच विद्युत् खरिद सम्झौताको क्रममा पनि दुई पक्षले नै भारतलाई विद्युत् व्यापार सहज बनाइदिन आग्र गर्ने भनेका थियौँ तर भारतले मूलभूत रूपमा हाम्रा सुझावलाई सुनेको छ’ मन्त्री पुनले भने।

उनले अब भारतको बाटो हुँदै छुट्टै प्रशारणलाईन बनाएर तेस्रो देशमा बिजुली लाने बाटो पनि खुलेको बताए। ‘भारतको प्रशारणलाईनमा त समस्या रहन्नन् तेस्रो देशमा बिजुली लादा दुई देशको प्रशारण लाइन सम्बन्धित देशले बनाउने र भारतसँग छुट्टै प्रशारणलाई बनाएर पनि जान सकिने गरी नीति आएको छ’ पुनले भने। उनले अबका दिनमा नेपाल विद्युत बिक्रीमा कुनै समस्या नहुने बताएका छन्। भारतको नीतिले क्षेत्रीय सहयोग पुग्ने पुनको भनाइ छ।

कुलमानको टोली भारत जाने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको प्रतिनिधिमण्डले मंगलबार भारतमा हुने पावर एक्स्चेन्ज कमिटीको बैठकमा भाग लिन जाँदै छ। बैठकका क्रममा नेपालले इनर्जी बैक स्थापनाको विषयमा छलफल गर्ने मन्त्री पुनले जानकारी दिएका छन्।

‘अहिले पनि हाम्रो थोरै मात्रैमा इनर्जी बैंकिङ त गरिएको छ भोलिको दिनमा इनर्जी बैकिङ बढाउने भएकोले स्थपनाको लागि भारतसँग छलफल हुनेछ’ मन्त्री पुनले भने। अहिले नेपालले इनर्जी बैंक प्रयोग गरेर धेरै हुँदा भारतमा बेच्ने र कम हुँदा भारतबाट आयात गर्ने गरेको मन्त्री पुनले बताए। बैठकमा नेपालले प्रशारण लाइन विस्तारका विषयमा पनि छलफल हुने बताएका छन्।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्