Logo
५ जेष्ठ २०८१, शनिबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा सडक निर्माण कम्पनीले आफ्नै खर्चमा खटायो प्राविधिक टोली

म्याग्दी : स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा-गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न ल्याएको हो ।

भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा-गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताए । गुइठे, जलथले, काभ्रे, लेतेलगायत भुरुङ तातोपानीदेखि कोवाङसम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन गरिने भएको हो ।

निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञ ल्याएर अध्ययन शुरु गरेको क्षेत्रीले बताए । विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने क्षेत्रीको भनाइ छ । कालीगण्डकी नदीको पश्चिमी भागको किनारै किनार निर्माणाधीन सडक भिरालो, कमजोर भूगोल र तटीय क्षेत्र भएकाले पहिरो र कटानको जोखिममा छ ।

गत वर्षात्मा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा रु पाँच करोड मूल्य बरारबको भौतिक क्षति पु¥याएको दाबी गरेको छ । भूगोल अनुकूल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राविधिक अध्ययन शुरु गरिएको छ ।

बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ । मङ्सिर महीनादेखि सडक स्तरोन्नतिको लागि बेनी-जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवतजावत रोकेर काम गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्