Logo
२३ बैशाख २०८१, आईतबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन पढ्ने छात्राको क्रेज : १५ वर्षभित्र न्यायका प्रत्येक अङ्गमा महिला

काठमाडौं : कानुनी शिक्षामा महिलाको आकर्षण ह्वात्तै बढ्दैछ । अहिले कानुन पढ्ने पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बरले बढी छ ।आजभन्दा १५ वर्षअघि न्याय क्षेत्रमा महिलाको उपस्थिति एक दुई हातको औँलामा गन्न सकिने थियो । वर्तमान समयमा भने कानुनप्रति महिलाको मोह बढ्दो क्रममा छ । कानुनका क्याम्पस कुनै नर्सिङ कलेजभन्दा कम छैनन् ।

नेपालमा कानुनी शिक्षा प्रदान गर्दै आएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नियमित अध्यापन हुने विभाग ५ वर्षीय कोर्स बीए र एलएलबी अन्तर्गतको तथ्याङ्कले के प्रस्टै पार्छ भने अबका आउने १५ वर्षमा न्यायालयको नेतृत्व महिलाले गर्ने मात्र हैन, न्यायका अङ्गप्रत्यङ्ग भरी महिलानै महिला हुने पक्का छ ।

यो क्रम यसरी नै बढ्दै जाने हो भने न्याय परिषद्, अड्डा अदालत, कानुनी कक्षा सबैतिर महिलाकै बर्चस्व हुने देखिन्छ । वर्षौं अन्यायमा प्रताडित महिलाले त्यतिखेर आफै न्यायको मलम लगाउनेछिन् । अर्को विभाग एलएलबीअन्तर्गत बर्सेनि थुप्रै सङ्ख्याले भर्ना गर्छन् तर कक्षामा उपस्थिति र उत्तीर्ण हुने सङ्ख्या एकदमै न्यून भेटिन्छ ।

यो दुखद कुरा हो । नियमित कक्षा हुने र उपस्थिति साथै बहुमतको सङ्ख्याले उत्तीर्ण हुने ५ वर्षीय बीए र एलएलबीतर्फ नेपालभरीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३ वटा क्याम्पस छन्, जसमा दुईवटा सरकारी र एउटा निजी । ती कलेजको विद्यार्थी सङ्ख्या हेर्ने हो भने छात्रको तुलनामा छात्रा तेब्बर छन् । तीमध्ये नेपाल ल कलेजमा तत्काल सञ्चालनमा रहेका ४ वर्षका नियमित विद्यार्थी सङ्ख्या ३४७ रहेको छ, जसमध्ये छात्रा २४७ र छात्र १०० जना छन् ।

यस्तै, पृथ्वीनारायण क्याम्पस पोखरामा १०७ छात्रा र ६८ छात्र छन् भने नेसनल ल कलेज ललितपुरमा ३०६ जना विद्यार्थी अध्ययनरत छन्, जसमध्ये छात्रा २१० र छात्र ९५ छन् । जम्माजम्मी ८२८ अध्ययनरत छन्, त्यसमध्ये ५६५ छात्रा र २६३ छात्र रहेका छन्, जुन प्रतिशतमा बदल्दा करिब ६८ र ३२ हुन आउँछ ।

कानुन पढ्ने प्रायः विद्यार्थीहरू विज्ञान सङ्कायबाट आएका भेटिन्छन् । नेपाल कानुन व्यावसायिक परिषद्का अनुसार अहिलेसम्म नेपालभरि अधिवक्ताको सङ्ख्या १६९८८ रहेको छ, जसमा महिलाको भन्दा पुरुषको सख्या ८ गुणाले बढी छ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्