Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्कबारे ओली-मोदी समेतको एकसाथ सन्देश : शिखर सम्मेलन आवश्यक, आतङ्कवाद नै ठूलो खतरा

काठमाडौ :  नेपाल सहित बिभिन्न देशहरु सम्मिलित दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सार्क अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा सन्देश दिदै सार्कको नियमित प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको बताएका छन्।

प्रधानमन्त्रीले सार्कको संस्थापक मुलुक तथा वर्तमान अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको बताए ।

सार्कको बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक–सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै उहाँले त्यसका सिद्धान्तले दक्षिण एशियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको उनको सन्देशमा उल्लेख छ ।

सन् १९८५मा सार्क स्थापना भएयता क्षेत्रीय सहयोगका विविध क्षेत्रमा सङ्गठनले प्रगति गरेकामा खुशी व्यक्त गर्दै उनले सदस्य देश र दक्षिण एशियाका जनतामा हार्दिक शुभकामना बधाई समेत ब्यक्त गरेका छन् ।

“दक्षिण एशिया साझा इतिहास, साझा सामाजिक संरचना तथा सांस्कृतिक सम्पदा र भौगोलिक निकटताले एकसाथ जोडिएको छ, विकासका लागि यहाँ उपलब्ध अथाह सम्भावना र अवसरले सँगसँगै अघि बढ्न र सहकार्यका निम्ति थप गति प्रदान गरेको छ,” प्रधानमन्त्रीले भनेका छन् ।

वर्तमान विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएको बताएका छन् ।

सन्देशमा उनले दक्षिण एशियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै दक्षिण एशियाली देशको साझा मञ्च सार्कले सदस्य राष्ट्रबीच समझदारी अभिवृद्धि, विकास र समृद्धिका निम्ति मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

क्षेत्रीय सहयोगको औचित्य बढीरहेको परिप्रेक्ष्यमा सदस्य देशले सार्कलाई गतिशील क्षेत्रीय सङ्गठनका रुपमा अघि बढाउन उच्चस्तरीय प्रतिबद्धता प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् –’यो विशेष दिनले हामीलाई शान्तिपूर्ण, समृद्ध र सुखी दक्षिण एशिया निर्माणका निम्ति दृढताका साथ साझेदारी गर्दै सघन क्षेत्रीय एकीकरणतर्फ उन्मुख हुन अभिप्रेरित गरोस् ।’

यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि आतङ्कवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउँदै आतङ्कवादका सबै किसिमका स्वरुपलाई भेदभावरहित ढङ्गले निमिट्यान्न पार्नुपर्ने उनको तर्क रहेको छ ।

वडापत्र दिवसका अवसरमा उनले आज दिएको शुभकामना सन्देशमा तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दैै आएको भए पनि आशातित लक्ष्य हासिल गर्न नसकेको यथार्थ औँल्याउँदै क्षेत्रीय सहयोगको निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको तर्क गरेका छन् ।

यसैगरी पाकिस्तानका राष्ट्रपति डा आरिफ आल्भीले विवादरहित दक्षिण आफ्नो परिकल्पना भएको बताउँदै सदस्य राष्ट्रबाट गरिबी, अशिक्षा, रोग, कुपोषण र वेरोजगारीविरुद्ध सामूहिक रुपमा मुकाबिला भइरहेको स्मरण गरेका छन् ।

गरिबी निवारण, सामाजिक–आर्थिक समानताको सृजना, महिला सशक्तीकरण तथा प्रगतिशील, शान्त, समृद्ध दक्षिण एशिया निर्माण गर्ने सङ्गठन भएको बताउँदै उनले वडापत्र दिवसले तिनै लक्ष्य पूरा गर्ने प्रतिबद्धतालाई नवीकृत तुल्याउने सन्देशमा उल्लेख गरेका छन् ।

त्यस्तै, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दक्षिण एशियामा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सार्कले दक्षिण एशियालाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै उक्त सङ्गठनको संस्थापकका नाताले श्रीलङ्काले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गरेको सन्देशमा उल्लेख गरेका छन् ।

यसै अवसरमा भुटानका प्रधानमन्त्री लोते छिरिङले दिएको शुभकामना सन्देशमा सार्कले आर्थिक, सामाजिक एवं सांस्कृतिक फाँटमा उल्लेखनीय प्रगति गरेको बताउँदै दक्षिण एशियाका जनताको कल्याण तथा क्षेत्रीय सहयोग प्रवद्र्धनका निम्ति सङ्गठन स्थापना गरेका सार्कका संस्थापकहरुप्रति आभार प्रकट गरेका छन् ।

बङ्गलादेशका परराष्ट्रमन्त्री अबुल हसन महमुद अलीले शुभकामना सन्देशमा क्षेत्रीय सहयोगका धेरै क्षेत्रमा सार्कले सहकार्यका अवसर उपलब्ध गराएको बताउँदै क्षेत्रीय एकताको निम्ति सबै सदस्य मुलुक एक हुनुपर्ने जोड दिएका छन् ।

यसैगरी, मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइले सार्कका सिद्धान्त, आदर्श, सहयोग एवं मैत्री, विविधतामा एकताप्रति आफ्नो देशको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै आपसी मतभिन्नता त्यागेर सार्क क्षेत्र र यहाँका जनताको समृद्धिका निम्ति साझेदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी सार्कका महासचिव अमजद हुसेन बी सियालले सबै सदस्य राष्ट्रप्रति शुभकामना व्यक्त गर्दै बडापत्रका लक्ष्य र उद्देश्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्