Logo
२३ बैशाख २०८१, आईतबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणभुल्लमा राजपा : संकटमा मधेशकेन्द्रित दलको अस्तित्व !

रामसुकुल मण्डल

मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न पटक पटक आन्दोलन गर्ने ती राजनीतिक दलको आह्वानमा १ सय भन्दा बढीले बलिदान गरेका थिए । संविधानको विरोधमा गरिएको आन्दोलनलाई आम मधेशीहरूले सहयोग पु¥याएर मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूलाई शक्ति प्रदान गरे ।

आन्दोलनलाई खेलाँची गरेर आन्दोलनको असामयिक अवसान गराएको यथार्थ सबै सामु छ । ‘समग्र मधेश एक प्रदेश’को राजनीतिक माग कमजोर बनाउँदै सत्ताको राजनीति गर्नेहरू अहिले दोधारमा परेका छन् ।

ठूला पार्टीसँग सहकार्यताको क्रममा कहिले एक प्रदेश, कहिले दुई प्रदेश त कहिले बहुल प्रदेशको माग अगाडि सार्दै आफ्नो बालराजनीतिक चरित्र देखाउने मधेशकेन्द्रित दलको हविगत चिन्ताजनक भएको छ । मधेशी जनताको पहिचानका लागि लड्दैछु भनी दाबी गर्नेहरूको अचेल आफ्नो पहिचान र अस्तित्व गम्भीर मोडमा पुगेको छ ।

दबाब दिने अवस्थामा पुगेको मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूले मधेशको जनतालाई जित्नु महत्वपूर्ण विषय हो । मधेशी जनतालाई जित्न यस पटक सरकारमा नजाने रणनीतिलाई सुनिश्चित गर्नु हो । मधेशका जनताको भावनाले भनेको राजनीति गर्नु हो । राजनीतिको धरातलीय यथार्थ बुझ्नु हो । यो धरातलीय यथार्थ बुझनु पर्ने आवश्यकताप्रति मधेशका राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ ।

मधेशकेन्द्रित दलका नेताहरूले अहिले तराई–मधेशमा क्रान्तिकारी भाषण गर्दै जनताको भावनासँग खेलवाड गरिरहेका छन् । आफूले विगतमा गरेका कमी कमजोरीहरूबारे आत्मालोचनासमेत नगरी पुनः जनतामाझ पुगेर ठूलठूला भाषणहरू गर्दैछन् ।

विगतलाई हेर्ने हो भने मधेशकेन्द्रित दलका नेताहरूले अधिकांश महत्वपूर्ण मन्त्रालयहरू सम्हालिसकेका छन् । तर, जनतासँग सरोकार राख्ने एउटा पनि उदाहरणीय कार्य गरेको पाइँदैन । कृषि, शिक्षा, भौतिक पूर्वाधार तथा यातायात, सिंचाइ, सूचना तथा सञ्चार लगायतका मन्त्रालय सम्हालिसकेका छन् । तर, यी क्षेत्रहरूमा आफू मन्त्री हुँदा के–के गरे भन्ने कुनै जवाफ छैन ।

जहिले पनि मधेशको अधिकारका लागि आफूहरू लडिरहेको भन्ने मधेशकेन्द्रित दलका नेताहरूसँग मधेशमा विकास गर्ने वा मधेशलाई आर्थिकरूपले सम्पन्न बनाउने कुनै योजना वा दीर्घकालीन नीति छैन । मधेशको मुद्दालाई टेकेर जहिले पनि राजनीति गर्ने, मुद्दाको बार्गेनिङ्ग गरेर सरकारमा जाने बाहेक अन्य पनि कार्य गर्न सकेका छैनन् ।

मधेशमा विद्यमान रहेको कृषि, उद्योग, कलकारखाना, यातायात लगायतका समस्याबारे मधेशी दलहरूको एजेन्डा कहिल्यै पनि बनेन । राजनीतिक मागहरू मात्र अगाडि सारेर मधेशका समस्याहरू जहाँको त्यहीं राखेर बारम्बार सत्तामा प्रवेश पाउँदै आएका छन् मधेशवादी दलका नेताहरू ।

मधेशी जनताको मतादेशको मानमर्दन गर्दै मधेशी दलका नेताहरूले आफ्नो सत्तालोलुप्त चरित्रलाई उदाङ्गो पार्दैछन् । मधेश आन्दोलन चलिरहँदा मधेशका मागहरू सम्बोधन नभएसम्म कुनै सहमति सम्झौता नहुने भाषण गर्दै आएका नेताहरू अन्ततः सत्ताकै खेलमा लाग्दै गए ।

वर्तमान संविधानलाई मान्दैनौं भन्ने तर त्यहीं संविधानलाई टेकेर विभिन्न सुखसुविधा भोग गर्दै आएका छन् । सत्तालम्पट पार्टीहरूको घोर अनैतिक, अतार्किक र मधेशी जनता प्रतिको घोर कृतघ्न कार्य रहेको मधेशी बुद्धिजीबीहरूको ठहर छ ।

रणभुल्लमा राजपा
मधेशमा अहिले शून्यताको अवस्था छ । छ महिनासम्मको नाकाबन्दी जस्तो कठोर आन्दोलन बिना निष्कर्षमा टुङ्गिदा पनि मधेशी जनता हार मानेनन् ।

मधेशको नाममा राजनीति गर्ने दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको अस्पष्ट धार र धारणाका कारण मधेशमा फेरि आन्दोलन गर्ने धम्की दिनु आफैमा हास्यास्पद छ ।

मधेशकेन्द्रित दलहरूको धार, धारणा र धरातल स्पष्ट नहुँदा मधेशमा यिनीहरूको विकल्प खोज्न सुरू भएको छ । राजपाले बेला–बेला आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । तर, आन्दोलनका पूर्वाधारहरू तयार गर्न सकेको छैन ।

बार्गेनिङ्ग नमिल्दा आन्दोलन गर्ने भनेर मधेशको मुद्दाहरू चर्को श्वरमा उठाउन थाल्ने गरेको विगत साक्षी छ । राजपाले छठपछि समर्थन फिर्ता लिएर आन्दोलन गर्ने भनेर शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रमहरूमा उद्घोष गर्दै हिंडेका छन् ।

राजपाले सरकारलाई समर्थन गर्नु र फिर्ता लिनुको खासै अर्थ राख्दैन । यस विषयमा पनि राजपाभित्र विवाद देखिएको छ । अध्यक्षमण्डलकै कसैले अहिले समर्थन फिर्ता लिने बेला भएको छैन भनेर भनिरहेका छन् भने कसैले फिर्ता लिएर आन्दोलनमा गइहाल्नुपर्छ भन्ने तर्कहरू गरिरहेका छन् ।

राजपाले सरकारलाई समर्थन गरेर बनाएको गठबन्धन नै अप्राकृतिक भएको साबित भइसकेको छ । तत्कालीन एमालेविरूद्ध संघर्ष गरेको राजापाले उसैलाई समर्थन गरेर गठबन्धन बनाउनु अप्राकृतिक नै हो । निर्वाचनका बेला राजपाका नेताहरूले एमालेलाई मधेशबाट पत्ता साफ गर्छौं, बिदाई गर्छौं लगायतका भाषण ठोकेका थिए ।

तर, आज उनै नेताहरू विभिन्न बार्गेनिङ्गमा लागेका थिए । बार्गेनिङ्ग नमिल्दा आन्दोलनको धम्की दिनु आफैमा दोधारे चरित्र हो । आन्दोलनमै गयो भने जनताले कुन आधारमा विश्वास गर्ने भन्ने कुराको राजपाले समीक्षा गर्न जरूरी छ ।

अर्का आन्दोलनकारी दल फोरम नेपाल सरकारमा छ । उसले जे कुराका लागि सरकारमा गएको थियो त्यो मुद्दा अहिले गौण अवस्थामा छ । उसको क्रियाकलापलाई मधेशी जनताले नियालिरहेका छन् र स्पष्ट छन् कि उसको उद्देश्य एक मात्र थियो सत्तामा प्रवेश । फोरमको राजनीतिक यात्रा स्पष्टरूपमा रहेको छ ।

जनताले पनि बुझेका छन् कि फोरम केका लागि राजनीति गर्दैछ । तर, राजपामाथि जनताको केही हदसम्म विश्वास र आशा थियो त्यो पनि विस्तारै हट्दै गइरहेको छ । राजपासँग दम छैन दम्भ मात्र छ, धम्कीको राजनीतिले मधेशको माग पूरा हुँदैन ।

द्विविधामा बसेर सुविधा मात्र लिने नेताको कारण राजपा पतनतिर लाग्न थालेको आम बुझाई छ । जनतालाई सधैं ढाटेर राजनीति गरेकाले यीनै नेताका विरूद्ध जनताले अर्को आन्दोलन गर्ने एक किसिमको वातावरण पनि तयार हुँदै गइरहेको छ ।

अब राजापाले धम्कीको राजनीति छोडेर सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा समर्थन जारी राखेर आफ्ना माग पूरा गराउने तर्फ लाग्नु नै उत्तम हुनेछ । राजपाले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न र मधेशी जनताको मन जित्न सक्ने परिपक्क निर्णय गर्नु आवश्यक छ ।

चर्को भाषण गरेर आन्दोलन हुने अब सम्भव छैन । मधेशका जनता बडो सम्वेदनशील छन् र त्यो सम्वेदनशीलताको ख्याल गरिएन भने राजपा जस्ता दलहरू समाप्त हुने निश्चित छ । मधेशमा उठ्ने गरेका अलगाववादी श्वरहरू मधेशकेन्द्रित दलहरूमाथि हावी हुँदै गइरहेको छ ।

राजपा र फोरम दुवैका लागि यो चिन्ताको विषय हो । एउटा मधेशकेन्द्रित दल मधेश मुद्दालाई विसर्जन ग¥यो भन्ने तर्क गरिँदै छ भने अर्को दल राजपामा द्रव्यवाद, परिवारवाद, हावी हुँदै गइरहेको छ ।

तसर्थ, जनभावना र मतादेशको कदर गर्दै उपयुक्त निर्णयमा पुग्नु नै राजपाको राजनीतिक परिक्कता हुनेछ । रणभुल्लमा पर्नु हुँदैन । (मधेश दर्पण फिचर सेवा)

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्