Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगगुरु रामदेवको नोपली ‘पतञ्जली आयुर्वेद उद्योग’ मा विवाद, भारतीय कर्मचारी छोडेर गए

काठमाडौं : भारतमा पाँच सय र एक हजारको नोटको चलनचल्तीलाई खारेज गरेपछि अकूत रकमलाई हुण्डीमार्फत नेपाल भित्र्याएर आयुर्वेद उद्योगका रुपमा गरेको भनिएको लगानीमा विवाद उत्पन्न भएको छ । भारतीय योगगुरुको नामले परिचित स्वामी रामदेवले अवैधरुपमा नेपाल भित्र्याएर गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी डा. उपेन्द्र महतो र भारतीय योगगुरु रामदेवसँग विवाद उत्पन्न भएको उच्च स्रोतले जनाएको छ ।

रामदेव र महतोबीच गोप्य छलफल गरेर केही वर्षअघि विराटनगरमा स्थापना गरेको ‘पतञ्जली आयुर्वेद उद्योग’ मा विभिन्न विषयलाई लिएर विवाद सुरु भएको स्रोतको दाबी रहेको छ ।भारतीय सरकारले पाँच सय र एक हजार रुपैयाँको नोटको चल्तीमा बन्द गरेपछि विभिन्न अवैध रुपमा जम्मा भएको रकमलाई वैध बनाउनकै लागि चोरबाटो हुँदै नेपालमा भित्र्याएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको थियो ।

स्रोत नखुलेको सम्पत्ति सरकारीकरण हुने भएपछि सोबाट बचाउनकै लागि महतोको सहयोगमा उद्योग स्थापना गर्ने भन्दै रामदेवले सो रकम नेपाल भित्र्याएका थिए । आफू संलग्न रहेको कम्पनीबाट मुनाफा वितरण गर्न नपाउने कुनै पनि कम्पनीले लगानी अन्यत्र ल्याउन पाउँदैन तर आफ्नो अवैध स्रोत नखुलेका सम्पत्तिलाई वैध बनाउनकै लागि रामदेवले हुण्डीमार्फत रकम नेपाल ल्याएको आरोप स्रोतको रहेको छ । अर्को कम्पनीसँग पनि उनको कुनै सम्बन्ध नरहेको कानुनी रुपमा समेत नभेटिएपछि नेपालको वीरगञ्जमा स्थापना गरेको कम्पनी गैरकानुनी र विना स्वीकृति सञ्चालन हुँदै आएको छ । आफूलाई महान् योगगुरुको पगरी गुथेका रामदेवले अनुमति नै नलिई पतञ्जली आयुर्वेद प्रालिको नामबाट नेपालमा लगानी गरेपछि उनको कालोधन्धाको खुलासा भएको हो ।

तत्कालीन समयमा रामदेव र महतोबीच भएको सम्झौताअनुसार काम नभएको भन्दै विवाद उत्पन्न भएको र सो उद्योगबाट रामदेवले रकम फिर्ता मागेको समेत स्रोतको दाबी रहेको छ । विद्यमान कानुनअनुसार कुनै देशमा लगानी गर्नुभन्दा पहिला सो देशको लगानी कानुनअनुसार विवरण पेस गरी दर्ता गरी लगानी गर्न पाइने प्रावधान रहेको छ । रामदेवले नेपाली कानुनविपरीत लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृतिनलिई आफ्नो व्यवसाय सञ्चालन गरेको पाइएको छ । उनी नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीसमेत कानुन मिचेर दर्ता गरिएको पाइएको छ ।

कानुनविपरीत नै उनले एक अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको भन्दै आफ्नो अवैध लगानीको जानकारी गएको वर्ष काठमाडौैंमा पत्रकार सम्मेलन नै गराएका थिए । पतञ्जलीसँग उनको कुनै सरोकार नभएको समेत खुलेको छ ।हालसम्म रामदेव आफैँले कुनै पनि उद्योगमा लगानी गर्न पाउने अनुमतिनै लिएको भेटिएको छैन । उनले आफूले सिधै लगानी गर्न नमिल्ने भएपछि नेपालमा गैरआवासीय नेपाली उपेन्द्र महतोको नाममा लगानी देखाएर अवैध लगानी गरेको आरोप समेत लगाइएको छ ।

पतञ्जली आयुर्वेद प्रालिमा उनकी श्रीमती समता प्रसादकोमात्रै लगानी रहेको उल्लेख छ । २०७१ भदौ २४ गते समताको नाममा शतप्रतिशत स्वदेशी लगानी रहेको भनी उक्त कम्पनी उद्योग विभागमा दर्ता गरेको पाइएको छ । रामदेवले भने उक्त कम्पनीमार्फत आफूले नेपालमा पाँच अर्ब रुपैयाँ लगानी गरेको घोषणा गरेका थिए । विदेशी नागरिकले नेपालमा कुनै उद्योग खोल्नुपूर्व उद्योगमन्त्रीले अध्यक्षता गर्नै औद्योगिक प्रवर्द्धन बोर्ड वा प्रधानमन्त्री अध्यक्ष हुने लगानी बोर्डबाट लगानी रकम स्वीकृत गराउनुपर्ने प्रावधान रहेको छ । सो प्रावधानलाई बेवास्ता गरी रामदेव र महतोले आफ्नो अनुकूल उद्योग सञ्चालन गर्दै आएको पाइएको छ । सरकारी अधिकारीका अनुसार उक्त उद्योगमा रामदेवले गैरकानुनी तवरबाट रकम भित्र्याएको अनुमान पछिल्लो समयमा आएर सो उद्योगभित्र भएको विवादले प्रष्ट भएको छ ।

भारतमा अवैध रहेको करोडौँ रुपैयाँको स्रोत खुलाउन नसक्ने भएपछि रामदेवले हुण्डीमार्फत रकम नेपाल ल्याएको अनुमान समेत सरकारी निकायका कर्मचारीले गरेको आरोप लागेको छ  । गैरआवासीय संघका संस्थापक अध्यक्ष महतोले रामदेवको लगानीमा मुनाफा वितरण नगर्ने कम्पनीबाट नभई पतञ्जली आयुर्वेद प्रालिमार्फत रहेको बताउँदै आएका छन् । मुनाफा वितरण नगर्ने कम्पनी कर नतिरेर सामाजिक काम गर्नकालागि दर्ता गएको हुन्छ ।

अवैध रुपमा सञ्चालन भएको सो उद्योगलाई मन्त्री र सचिवहरुको दबाबमा दर्ता गरिएको पाइएको छ । विदेशी नागरिकले नेपालमा कुनै उद्योग सञ्चालन गर्नकालागि विदेश लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार अनुमति लिनुपर्छ । उक्त ऐनअनुसार अनुमति नलिई कम्पनी रजिष्ट्रारको कार्यालयले सोझै दर्ता गर्नु गैरकानुनी हो । उद्योगले जुस, साबुन, सेम्पु, डिटर्जेन्ट सर्फ, बिस्कुट, तेल, चाउचाउ, दन्तमन्जन, च्यवनप्रास, घ्यू, मह, मसाला, औषधिलगायत २० भन्दा बढी प्रकारका सामानहरु उत्पादन गर्दै दाबी सो कम्पनीले गरेको छ । यसरी अवैधरुपमा भित्र्याइएको रकमबाट नेपालमा गरिएको लगानीकै विषयमा र आम्दानीको स्रोत लुकाएको विषयमा विवाद उत्पन्न हुन गएको थाहा हुन आएको छ ।

यता व्यवसायी महतोले भारतीय योगगुरु बाबा रामदेवसँगको सहकार्य नटुटेको दाबी गर्दै आएका छन् । नेपाल मेडिसिटी अस्पतालको निर्देशकसमेत रहेका डा. महतो मेडिसिटीको सहयोगमा वीरगञ्जमा आयोजना गरिएको प्याब्सन जिल्ला स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटनका लागि श्रीमती समतासँगै वीरगञ्ज गएका थिए ।

महतोले सहकार्य नटुटेको दाबी गर्दै औपचारिक भनाइ सार्वजनिक गरेपनि २०७४ फागुनबाटै सो उद्योगमा रामदेवको तर्फबाट राखिएका आरके शर्मालगायतका कर्मचारीहरुले उद्योग छोडेर भारत गएका छन् । उनीहरु गएपछि भारतको पतञ्जलीबाट कुनैपनि कर्मचारीहरु हालसम्म पठाइएको छैैन । सुरुमा पतञ्जली आयुर्वेद प्राइभेट लिमिटेड नेपाल भनेर उद्योग स्थापना गरिएको भएपनि भारतीय पतञ्जलीसँगको सहकार्य टुटेपछि नेपाल ग्रामोद्योग प्रालिको नाममा दर्ता गरी उत्पादन सुरु गरेको पाइएको छ ।

सुरुमा सो उद्योगको अगाडिरामदेव र आचार्य बालकृष्णको फोटोसहितको बोर्डसमेत हटाउने तयारी गरिएको छ । अहिले सो उद्योगमा महतोको तर्फबाट राखिएका व्यवस्थापक र कर्मचारीहरुमात्र उद्योगमारहेका छन् । वीरगञ्ज पथलैया सडक खण्डको प्रसौनीमा रहेको उद्योगमा २५ करोड लगानी गरिएको दाबी महतोको रहेको छ । तर सो रकमको स्रोत भने गोप्य राखिएको छ । नौ बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगको २४ नोभेम्बर २०१६ मा रामदेव र आचार्य बालकृष्णको उपस्थितमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी सञ्चालनमा आएको थियो ।

महतो र योगगुरु रामदेवपक्षका कर्मचारीबीचको विवाद उत्कर्षमा पुगेपछि भारतीय तर्फबाट हुने सबैखाले सहयोग बन्द गरिएको थियो ।नेपालको ‘लेवर ल’को बेवास्ता गरेर भारतीय पक्षले मनोमानी गर्न थालेको भन्दै नेपाली मजदुरहरुले विरोध गर्दै आएका थिए । भारतीय रामदेवसँग महतोको खटपट धेरै अघिदेखि सुरु भएको थियो । सो खटपटसँगै महतोले ‘ग्रामोद्योग’को नामले चारवटा सामान बनाइसकेको पाइएको छ । २५ करोडको उद्योगलाई योग गुरु रामदेवले पाँच सय करोडको बनाउने घोषणा गरेका थिए। तर नेपाली लगानीकर्ता र भारतीय कम्पनी पतञ्जलीबीच सेयर बाँडफाँटमा सहमति नहुँदा एक वर्षदेखि विवाद चुलिएको थियो ।

पतञ्जली ब्रान्डले ९० प्रतिशत सेयर आफूले लिने र यहाँको उद्योगीलाई १० प्रतिशत सेयर दिने सहमति गरेको थियो। उद्योगको ब्रान्ड र सञ्चालनको विषयमा विवाद हुँदा पतञ्जली लगानीबाट पछाडि हट्दै आफ्नो ब्रान्ड फिर्ता लगेको थियो । पतञ्जली भारतले उद्योगमा लगानी गर्ने मनसायसहित राकेश शर्मालाई कम्पनीको अध्यक्ष बनाएर पठाएको थियो। तर उनी बारा अएसँगै नेपाली श्रम ऐनलाई नमान्ने र विना कुनै कारण मजदुरहरुलाई कामबाट हटाउने गर्दा उनलाई मजदुरहरुले उद्योगमै घेरेर दुव्र्यवहार गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्