Logo
२३ बैशाख २०८१, आईतबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशलाई नै एउटा सकारात्मक सन्देश दिन छायाँनाथ रारा नगरपालिका सफल

गमगढी, मुगु : एउटा अत्यन्त दुर्गम क्षेत्रको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणा गरेर देशकै पहिलो नगरपालिका बन्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले इच्छाशक्ति भएमा के गर्न सकिँदैन भन्ने सन्देश दिएर देशलाई नै मार्गदर्शन गर्न सफल भएको हो ।

छायाँनाथ रारा नगरपालिका पहिलेको कर्णाली अञ्चल र हाल कर्णाली प्रदेशमा पर्ने अति दुर्गम तथा विकासमा पछिपरेको मुगु जिल्लामा पर्दछ, तर यसै नगरपालिकाभित्र रहेको राराताल भने पर्यटकीय क्षेत्रमा नेपालको मात्र नभई विश्वकै लागि एउटा हिराको टुक्राजस्तै रहेको छ र यसले कर्णाली प्रदेशको मात्र नभई देशकै समुन्नतिमा बल पु¥याउने अपार सम्भावना बोकेको छ ।

पश्चिमी नेपालको उत्तरी हिमाली क्षेत्रमा पर्ने रारा ताल विसं २०२० मा राजा महेन्द्रले भ्रमण गरेर ‘रारा कि अप्सरा’ भन्ने कविता लेखी रारा तालको वर्णन गरेपछि जिल्ला पञ्चायतले पनि यसको नाम पनि महेन्द्रताल घोषणा गरेपछि यसको देशभर चर्चा परिचर्चा शुरु भएको थियो । यो ताल २९८० मिटर उचाइमा पहाडहरुको काखमा वरिपरी जङ्गलले घेरिएको र अत्यन्त कञ्चन पानी भएको ताल हो ।

जति हे¥यो उति हेरिरहँ जस्तो लाग्ने यो ताल रारा राष्ट्रिय निकुन्जअन्तर्गत रहेकाले हालसम्म अप्रदूषित नै रहन सफल भएको छ । यस ताललाई देखेर मन्त्रमुग्ध हुनेको त कुरै छाडौँ, तस्वीर, टेलिभिजन, वृत्तचित्र आदिमा हेर्ने सौभाग्य पाउने जो कोही पनि जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य ठान्दछन् । यसको सुन्दरताको आकर्षणले युरोपेली देशका पर्यटक पनि यहाँको भ्रमणमा आउने गरेका छन् ।

यस्तो गरिमामय प्राकृतिक सम्पदा भएको मुगु जिल्ला भने आर्थिक तथा भौतिक प्रगतिको हकमा भने निकै पिछडिएको छ । मुगु जिल्लाको जनसङ्ख्या २०६८ को जनगणनाअनुसार ५५,२८६ रहेको छ भने साक्षरता प्रतिशत ५१ रहेको छ । यहाँको जनजीवन अत्यन्त कष्टकर भएकाले शिक्षा, स्वास्थ्यको अभाव भई सरदर आयू ३९ वर्ष मात्र रहेको छ ।

भौगोलिक तथा भौतिक प्रगतिमा पिछडिनु त छँदैछ, त्यसमाथि यस जिल्लाले भोग्नुपरेको अर्को विकृति वा कुसंस्कार रहेछ, अत्यधिक मदिरापान । ज्यादै चिसो हावापानी तथा हिउँ नै पर्ने भएकाले र जातीगतरुपमा केही मदिरापान स्वाभाविक भएपनि विकृतिको रुपमा जहिले पनि र जहाँ पनि मदिरापान हुने भएकाले यहाँका परिवार पीडित हुने रहेछन् ।

घरमूलिले मदिरापान गरी आफ्नो आम्दानी त्यसैमा स्वाहा पार्ने त छँदैछ, त्यसमाथि पुरुषले मदिरापानको नसामा पत्नि तथा छोराछोरीहरुलाई पिट्ने, अंगभंग हुने र मृत्युसम्म हुने घटना बढ्दै गएका रहेछन् । मदिराकै कारण चाँडै क्यान्सर जस्ता रोग लागी अकालमा मृत्यु हुने घटना पनि यहाँ धेरै हुने रहेछन् ।

यहाँ विवाहपछि एक/दुई वर्ष दाम्पत्य जीवन सुखमय हुने तर तुरुन्तै मदिरापानका कारण पारिवारिक मनमुटाव बढ्दै गएर छोडपत्र हुने तथा बहुविवाह हुने घटना धेरै हुने रहेछन् । सामान्यतया कसैको पनि घरमा पारिवारिक शान्ति नहुने गरेको पाइयो । यस्ता घटनाबाट आजित भएर नै सङ्घीयता लागू भएपछि बनेको यहाँको स्थानीय सरकार वा छायाँनाथ रारा नगरपालिकाले यो विकृति सदाका लागि हटाउनु आवश्यक ठानेको रहेछ ।

यसै क्रममा नगरपालिकाको सभाले २०७४ असारमा नगरलाई मदिरामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले कार्यविधि बनाई लागू गर्ने निर्णय गरेको र २०७५ साउन ३२ को नगरपालिकाको राजपत्रमा प्रकाशित भइसकेको तथा २०७५ असोज २ गतेको सर्वपक्षीय, सर्वदलीय भेलाले यसलाई कार्ययोजना बनाई कडाइका साथ लागू गर्ने निर्णय गरेकोमा २०७५ मंसिर १ गतेदेखि लागू हुने गरी सोही दिन नगरपालिका क्षेत्रलाई देशकै पहिलो मदिरामुक्त क्षेत्र घोषणा गरियो ।

कर्णाली प्रदेश (प्रदेश नं ६) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंसिर १ गते मदिरामुक्त क्षेत्र घोषणा कार्यक्रमको उद्घाटन गर्नुका साथै सो दिन नगरपालिकाद्वारा तयार गरिएको प्रतिवद्घतापत्र वाचन गर्नुभयो भने उपस्थित जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, विभिन्न सङ्घसंस्थाबाट उपस्थित अतिथिले सो प्रतिबद्घता वाचनमा साथ दिँदै सामूहिक रूपमा प्रतिबद्घतापत्र लेखिएको व्यानरमा हस्ताक्षर गरी प्रतिवद्घता व्यक्त गरेका थिए ।

प्रतिबद्घतापत्रमा नगरक्षेत्रभित्र कसैले पनि मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण, सेवन र ओसारपसार नगर्ने, नगराउने उल्लेख छ । प्रतिबद्घतापत्रमा समारोहमा उपस्थित मुख्य अतिथि, विशेष अतिथि तथा अन्य अतिथि गरी २२ जनाले हस्ताक्षर गरेका थिए ।

घोषणासभामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका जनतालाई बाहिरका मानिसहरुले वोल्न पनि नजान्ने, खान पनि नजान्ने र लाउन पनि नजान्ने ठान्दछन् तर आज यस प्रदेशको यस नगरपालिकाले देशलाई नै एउटा सकारात्मक सन्देश दिन सफल भएको बताए । उनले कर्णाली प्रदेशमा जनताको आफ्नो सरकार बनिसकेकाले यस क्षेत्रका समस्या सम्बोधन गर्ने गरी काम थालिसकेको र मुख्य सरोकारका योजनाहरुमा बजेटको कमी नहुने समेत बताए ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्