Logo
२४ बैशाख २०८१, सोमबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड पुत्र प्रकाश दाहालको स्मृति सभामा रुवावासी : ‘मुलुकलाई प्रकाशको आवश्यकता थियो’

काठमाडौँ : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुत्र वियोगको शोकलाई जसोतसो शक्तिमा बदल्न सक्षम भएको बताएका छन् । आफ्ना छोरा प्रकाश दाहालको स्मृति तथा श्रद्धाञ्जली सभामा प्रचण्डले शोकलाई शक्तिमा बदल्न सहज नभएपनि सबैको सद्भाव र मायाका कारण परिवार विघटन हुनबाट जोगिएको बताए ।

दाहाल आफ्ना छोराको स्मृति तथा श्रद्धाञ्जली सभामा बोल्दाबोल्दै भक्कानिएका थिए । पत्नी सीता दाहालसँगै कार्यक्रममा उपस्थित भएका दाहालको बोली बीचमै रोकिएको थियो । ‘मलाई धेरै भन्नु छैन। एउटा परिवार र देशका लागि स्तब्ध हुने समाचार बन्यो उनको निधन। सजिलो थिएन शोकलाइ शक्तिमा बदल्न । तर देशका लागि कुदेका हामिले त्यो गर्नुपर्थ्यो। सबैको सद्भाव र मायाले हाम्रो परिवार विघटन हुनबाट जोगियो। प्रकाश उदीयमान युवा थिए । देशलाई उनको आवश्यकता थियो । तर अब घटना त भयो नै। हजारौै प्रकाश जन्माउनेमा हामी र म केन्द्रीत भए उनकै सम्मान र मायाले गर्दा,’प्रकाशको सम्झनामा बोल्दाबोल्दै भक्कानिएका दाहालले भने ।

कार्यक्रममा प्रचण्ड पत्नी सीता दाहालले पनि आफूलाई सम्हाल्न सकिनन् । श्रीमती सीतालाई ढाडस दिइरहे पनि बोल्ने क्रममा भने प्रचण्डको गला अवरुद्ध भएको थियो । आफ्ना छोराको फोटोमा माल्यार्पण गर्ने क्रममा प्रचण्ड भावुक भएपछि उपस्थित सबैको मुहार मलिन भएको थियो । सभामा प्रकाश दाहालको जीवनीको केही भाग सुनाइएको थियो । छोराको जीवनी सुनाउने क्रममा आमा सीता दाहाल रुन पुगिन् ।

प्रचण्डसँगै बसेकी सीता रोएर मञ्चमै घोप्टोपरेपछि प्रचण्डले उठाएका थिए । सो क्रममा उनकी छोरीहरु ढाडस दिन पटक पटक नजिक आएका थिए । यता बिरामी भएपछि पहिलो पटक सावर्जनिक भएका प्रधानमन्त्री ओलीलाई पनि उनकी पत्नी राधिकाले केयर गरिरहिन् ।प्रकाश दाहालको स्मृति र श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेताहरु बाबुराम भट्टराई, मोहन वैद्य, लोकेन्द्र बहादुर चन्द, कमल थापादेखि खिलराज रेग्मी सम्म उपस्थित थिए ।

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्