Logo
१९ बैशाख २०८१, बुधबार
(November 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।  महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले आफूहरुले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्धपी उनले आवश्यक पर्यो भने छठपछि सरकारविरुद्ध सशक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने बताए । उनले भने,‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रुपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रिय कार्य समिति बैठक र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए ।

महतले भने,‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाईसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’

ओली सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार उदासिन बनेको छ । चरम महँगी भएको छ । यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन् । सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानूनलाई होईन, हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’

स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने,‘यसले गर्दा मुलुकमा स्वदेश तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ। यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ।’

मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने,‘अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलुकमा रोजगारीको अवसर बन्न सकेन। या पाराले कसरी मुलुक समृद्ध हुन्छ ?’

उनले पछिल्लो समय सरकारका कारण मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएकोपनि आरोप लगाए । महतले थपे,‘वाईड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्डपनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होईन, व्यक्तिको फाईदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन्।’

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने,‘ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होईन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।’

सरकारको पछिल्ला गतिविधिहरुलाई आफूहरुले गम्भिरताका साथ हेरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘जनताका आवाज, पीर, मर्कामा हामी सशक्त भूमिका निर्वाह गर्छौं । चुप लागेर बस्दैनौं ।’ आउने निर्वाचनमा आफ्नो पार्टी एक्लैले सरकार बनाउने पनि उनले घोषणा गरे ।

उनले कञ्चनपुरमा अहिले सरकारले नाटक देखाईरहेको पनि आरोप लगाए । उनले भने,‘१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यत्रो दिन बित्यो, तर रक्षक नै भक्षक भएको पाईयो । प्रहरी पनि सरकारकै संयन्त्र हो नि । सरकारकै छत्रछायाँमा यो भैरहेको छ ।’

सर्लाहीमा आफ्नो पार्टीका कार्यकर्ता रामविलाष महतोको हत्या गरिएको घट्ना कोट्याउँदै उनले भने,‘त्यहाँ हामीले जितेको क्षेत्र हो । अब यतातिर लाग्छौं कि लाग्दैनौं भनेर जबरजस्ती गरियो । होईन भने, तिमीहरु सबैलाई ठीक पार्छौं भन्दै हत्या नै भयो । ठाडै कसले गर्यो, के गर्यो भन्ने थाहा छ । सरकारले नै अहिले अपराधीलाई संरक्षण गरिरहेको छ । कांग्रेस सरकारमा हुँदा कहिल्यै विपक्षीलाई यस्तो गर्यो त ?’

फरक प्रसँगमा उनले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्नुको कारण निर्वाचनपछि पार्टीको परिणाम कमजोर भएकोले यही मौका छोपेर नेतृत्वको आलोचना गरौं भन्ने हिसाबले भएको भएपनि त्यसलाई आम कार्यकर्ताको पंक्तीले नरुचाएको स्पष्ट पारे । उनले भने,‘हाम्रा नेता तथा कार्यकर्ताहरुले अहिले तपाईहरु एक भएर अघि बढ्नुहोस, आँफैभित्र विवाद गर्ने बेला होईन भनेर भन्नुभएको छ । उहाँहरुले नेताहरुलाई आफ्ना कुराको चर्चा, बहस तथा छलफल केन्द्रिय समितिमा राख्न आग्रह गर्नुभएको छ । त्यतिमात्रै होईन, व्यक्तिलाई होईन पार्टीलाई केन्द्रविन्दु राखौं भन्ने आवाज बुलन्द भएको छ ।’

पार्टीका क्रियाशिल सदस्य हटाएर साधरण सदस्यहरुले नै महासमिति, महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्य चयन गर्नेगरि विद्यान मस्यौदा तयार पार्न लाग्नुभएको छ अरे नि भनेर सोधिएको प्रश्नमा उनले भने,‘यो विषय विधान मस्यौदा समितिले टुँगो लगाएको छैन् । अहिलेपनि हामी छलफलमै छौं । के गर्दा राम्रो हुन्छ, त्यही गर्छौं । गुण र दोषको आधारमा हामी निश्कर्षमा पुग्छौं ।’

त्यस्तै उनले सभापतिलाई असिमित अधिकार दिन लागिएको छ भनेर हल्ला चलाएपनि त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले भने,‘अहिले जति अधिकार प्राप्त भएको छ, त्यो अधिकार त प्रयोग गर्न दिईएको छैन् । न त सभापतिले नै अधिकार माँग्नुभएको छ । न त उहाँ सँधै सभापति नै हुनुहुन्छ । किन असिमित अधिकार चाहियो ?’

Comments

प्रकाशित मिति: Nov 1, 2018

प्रतिक्रिया दिनुहोस्