Logo
१५ बैशाख २०८१, शनिबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुक्क हुनुहोस् यो सरकार ५ वर्ष चल्छ, त्यसपछि अझै बलियो भएर आउनेछ : प्रधानमन्त्री ओली

काठमाडौं :  दुई साता लामो अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पाँच वर्ष चल्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । सत्ताको नेतृत्वकर्ता दलकै शीर्ष नेताले सरकारका कामको आलोचना गरेको र सरकार नै संकटमा परेको भन्दै आलोचना भएकोप्रति पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘तपाईंहरुले सरकारको गति र लक्षण देख्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ । पाँच वर्षमा चुनाव गराएर यो भन्दा बलियो भएर आउँछ । अलि बलियो भएर आउँछ । अब धेरै कुरा नगरौँ ।’ प्रधानमन्त्री ओलीले पात हल्लियो भनेर त्यसका पछाडि नदौडिनसमेत आग्रह गरे । ‘पात हल्लियो भने त्यसका पछि दौडिनु भएन’, ओलीले भने, ‘आजकाल मुद्दा भन्ने चलन छ । तर, मुद्दाहिनताको कुरा मात्र देखिन्छ । त्यो राजनीति होइन ।’

प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी गरे । बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारले गति नलिइरहेकोबारे भइरहेका टीकाटिप्पणीप्रति आपत्ति जनाए ।

उनले सरकारले सही दिशा पक्रिइरहेको राम्रो काम गरिरहेको उनले दाबी गरे । ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो, बजेट नै राम्ररी निकास हुन पाएको छैन त्यो भएन र यो भएन ?’

‘हावा चल्यो, हावामा पात बह्यो भने त्यस्तो राजनीतिको पछाडि कुद्ने होइन’ ओलीले भने, ‘मान्छेलाई कहिलेकाहीं चित्त बुझेको हुँदैन। कवितात्मक ढंगले, लयात्मक ढंगले केही कुरा भनिहाल्यो भने त्यसैलाई समातेर एकदम कुद्नुपर्ने केही पनि छैन । ’उनले कुनै दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका यथार्थ समस्या सम्झिने राजनीति नगर्न आग्रह पनि गरे ।

प्रधानमन्त्री ओली अमेरिका रहँदा सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधव नेपालले संसद् बैठकमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए । ओली नेतृत्वको टोली गत असोज ६ गते न्यूयोर्क प्रस्थान गरेको थियो । ‘विकास निर्माणका काम अगाडि बढेका छन् । अहिलेको बजेटले साउन र भदौमात्र काम गरेको छ । बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् ?’

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्