Logo
१६ बैशाख २०८१, आईतबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारमाथि कुटपिट, सरकारी कार्यालय तोडफोड

कञ्चनपुर : १३ वर्षीया निर्मला पन्तको हत्यारा सार्वजनिकको माग राख्दै मंगलबार कञ्चनपुर बन्द गरेको नेपाल विद्यार्थी संघले तीन सरकारी कार्यालयमा तोडफोड गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । बन्दकर्ताले बन्दको अवाज्ञा गरेको भन्दै एक्कासी भित्र आएर तोडफोड गरेको कार्यालयका कर्मचारीले बताएका छन् ।

प्रहरीका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी, टेबुल तोडफोड गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले बन्दकर्ताले एक्कासी कार्यालय भित्र पसेर कर्मचारी, कार्यालय र जिप तोडफोड गरेको बताए ।

उनका अनुसार सरकारी वकिल कार्यालयका नासु कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मञ्जु भट्ट र कार्यालय सहयोगी धनबिर भाटमाथी कुटपिट गरेको बताए । बन्दकर्ताले कार्यालय भित्र तोडफोड र नासु भट्टमाथि कुटपिट गर्दा प्रतिकारमा उत्रेका कास भाटको सर्टको बटम च्यातिदिएका थिए । कार्यालयको बा २ झ २७१५ नम्बरको जिपमा तोडफोड गरिदिएका छन् ।

तोडफोडबाट जिपको सिसा फुटेको छ । वकिल कार्यालयको जिप, कार्यालय र कर्मचारीमाथि कुटपिट गनविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको जिल्ला न्यायाधिवक्ता भट्टले बताए । सरकारी वकिल कार्यालयमा तोडफोडको फोटो खिचिरहेका एसटिएस एवं सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रकान्त जोशीमाथि समेत आन्दोलनकारीले कुटपिट गरेका छन् ।

तोडफोड गर्न लागेको फोटो किन खिचेको भन्दै आन्दोलनकारीले आफूमाथि अभद्र व्यवहार गर्नुका साथै कुटपिट र क्यामेरा खोसेर भागेको पीडित पत्रकार जोशीले बताए । समाचार संकलन गर्न गएका पत्रकार जोशीमाथी हातपात र क्यामेरा तोडफोड गरेको भन्दै कञ्चनपुरका पत्रकारले नेवि संघका आन्दोलनकारीले गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

पत्रकार र क्यामेरा तोडफोड गर्नु प्रेस र प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले जिसस र प्राविधिक कार्यालयमा समेत तोडफोड गरेको बताए । उनका अनुसार कार्यालय भित्र पसेका आन्दोलनकारीले कुर्सी, टेबुल, सिसा र कम्युटर, प्रिन्टर, टेलिफोन तोडफोड गरिदिएका छन् ।

यता नेवि संघ कञ्चनपुरले सरकारी कार्यालय सवारीसाधन तोडफोड र पत्रकार कर्मचारीमाथी कुटपिट कुनैपनि नेविसंघले नगरेको दावी गरेको छ । नेवि संघका केन्द्रीय सदस्य एव कञ्चनपुरका संयोजक गणेश भट्टले नेविसंघको शान्तिपुर्ण आन्दोलनमा घुसपैठ भएको बताए । क्यामेरामा कैद भएका तोडफोड गर्ने र कुटपिट गर्ने व्यक्तिलाई कार्बाही गर्नुपर्ने उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले सरकारी कार्यालय, सवारी साधन र पत्रकारमाथी कुटपिट गर्नेको खोजी भइरहेको बताए । पत्रकारमाथि कुटपिटको घटनालाई लिएर कञ्चनपुरको नागरिक समाजले नेविसंघको आन्दोलनमाथि प्रश्न खडा गरेको छ ।

 

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्