Logo
६ जेष्ठ २०८१, आईतबार
(September 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता : २५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्तामा शङ्खमूल दोभान क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २८ संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत स्थानीयवासीको सहभागिता थियो ।

वाग्मतीका अभियानकर्मी चक्रबहादुर चन्दको ३८ औँ जन्मोत्सवका अवसरमा नदी किनारमा दुईवटा समीका बिरुवा रोपिएको थियो । वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २४२ औँ हप्ताको सफाइ गोकर्णेश्वर नगरपालिका–८ स्थित माकालबारी क्षेत्रमा गरियो । नगरपालिका–८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाको संयोजनमा सफाइ भएको थियो ।

रुद्रमती सफाइको २३६ औँ हप्तामा रातोपुलबाट गौशाला–पशुपति–जयबागेश्वरी–सिफल–कालोपुल क्षेत्रसम्म सफाइ गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडासदस्य शर्मिला महतो, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो ।

सफाइका क्रममा पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले विश्व मुटु दिवसका अवसरमा ‘म बन्छु जिम्मेवार, कर्तव्य सहितको अधिकार’ नारासहित आयोजना गर्नुभएको गौशाला–पशुपति सफाइ एवं मुटु परीक्षणमा रुद्रमती सफाइ अभियानका अभियानकर्मी सहभागी भएका थिए ।

विष्णुमती सफाइको २०८ औँ हप्तामा आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित विष्णुमती पुलमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । विष्णुमतीको घाट एवं सत्तलमा गरिएको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विगत दुई हप्तामा सफाइ गरेर थुपारेको फोहर नगरपालिकाले नउठाएको उहाँले गुनासो गर्नुभयो । आजको सफाइमा स्थानीय चिसेनी युथ क्लबाका युवाको उल्लेखनीय सहभागिता थियो । विष्णुमतीको मुहान क्षेत्रमा धेरै फोहर भेटिएकाले अर्को शनिबार २०८ औँ हप्ताको विष्णुमती सफाइ पनि यहीँ गरिनेछ ।

वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ९१ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी मनोहरा सफाइको ८१ औँ हप्तामा बालकुमारी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहाल, सञ्जय साई केन्द्रका पदाधिकारी एवं सदस्यलगायत १०० भन्दा बढीको उपस्थिति थियो ।

चक्रपथ सफाइको ७७ औँ हप्तामा सामाखुसी चोकबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरियो । ३५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो । सफा गरेको स्थानमा फोहर फाल्न नदिन स्थानीयवासी पनि सचेत हुनुपर्नेमा अभियानकर्मीले जोड दिएका थिए ।

आलोकनगर सफाइको ७७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर क्षेत्रमा ५५ महिलाको उपस्थितिमा जनचेतनामूलक अभियान पनि गरिएको थियो ।

चक्रपथ बाफलखण्ड सफाइको ५९ औँ हप्तामा बाफलबाट सीतापाइला दोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षकै रुपमा घोषणा गरेको छ ।

प्रकाशित मिति: Sep 29, 2018

प्रतिक्रिया दिनुहोस्