Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाडपर्वलाई मध्यनजर गर्दै सरकारद्वारा सहुलियत मूल्यका पसल सञ्चालन

काठमाडौँ :  सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी निकायको सहभागितामा सहुलियत दरको पसल सञ्चालनमा ल्याइएको हो ।

रामशाहपथस्थित नेशनल ट्रेडिङ परिसरमा आज सहुलियत मूल्य पसलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उहाँले उपभोक्तालाई गुठी र उपभोग्य सामग्रीमा मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको बताउनुभयो । चाडपर्वबाहेक अन्य समयमा पनि आम पसल सञ्चालकले सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “ऐन तथा नियमको परिधिभित्र रहेर नाफा आर्जन गर्न पाइन्छ, गुणस्तरीय सामग्री बिक्री वितरण गर्नुपर्छ, चाडपर्वको मुखमा कालोबजारी गर्न पाइँदैन, बजारलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ ।” मन्त्री यादवले चाडबाडका क्रममा उपभोग्य सामनको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकार कडारुपमा प्रस्तुत हुने प्रस्ट्याउनुभयो ।

यसपटक उपभोग्य सामग्रीको अभाव र कृत्रिम मूल्यवृद्धि नहुने दाबी गर्दै उहाँले आम उपभोक्तालाई ढुक्क हुन आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “सहुलितय पसलबाट सहुलियत मूल्यका सामग्री खरीद गर्नुस् र अन्य पसलबाट सुपथ मूल्यका सामग्री खरीद गर्नुहोस्, कसैले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि गरेको पाइए सम्बन्धित निकायमा खबर गर्नुस्, आम उपभोक्ताको साथमा सरकार छ ।” सहुलियत मूल्यका पसल अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने उहाँको भनाइ थियो ।

आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सहुलियत दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउन र कृत्रिम अभाव सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

त्यस्तै उपत्यकामा तीन वटा ‘मोबाइल भ्यान’ मार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराइएको छ । आजदेखि सञ्चालन भएका सहुलियत मूल्य पसल आगामी कात्तिक २७ गतेसम्म चल्नेछ । सरकारले विसं २०६६ देखि जनतालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

सहुलियत मूल्य पसलबाट साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले आकर्षक छुटमा उपभोग्य सामग्री उपलब्ध गराएका छन् । चामल, दाल, गेडागुडी, फापरको पीठो र खसी, बोका, भेडा तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट दिइएको छ । डिडिसीले घ्यूमा प्रतिकिलो रु ५० छुट दिइएको छ ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्