Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोटपटक लागेका बिरामीका लागि टिटानस सुर्ई अभाव

बाँके : बाँकेमा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् ।

औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानसको सुई अभाव भएको हो । भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जलगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ ।भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक महिनादेखि सो सुईको अभाव देखिएको हो ।

भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले अस्पतालले सो सुई उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरीद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताए । ‘टिटानसको सुई नभएको खण्डमा विकल्पमा प्रयोग गर्न सकिने विधि छ, तर जुन सामान्यभन्दा अलि महँगो हुन्छ’, डा थापाले भने ।

भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताए । सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको पौडेलले बताए ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्